शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हमासले दुई वर्षपछि नेपाली विद्यार्थी विपिन जोशीको शव फिर्ता गर्‍यो

मंगलवार , आश्विन २८, २०८२

काठमाडौँ,२८ असोज – दुई वर्षअघि हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायल सरकारलाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हमासलाई उद्धृत गर्दै जनाएको अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये जोशी पनि एक हुन् । बाँकी तीन जना गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव पनि सोमबार इजरायललाई बुझाइएको हो ।

हमासले यसअघि बन्धक बनाइएका २० जीवित इजरायली नागरिकलाई अन्तर्राष्ट्रिय रेडक्रसमार्फत मुक्त गरेको थियो । त्यसपछि बाँकी शव हस्तान्तरण गर्ने क्रममा नेपाली विद्यार्थी विपिन जोशीको पनि शव फिर्ता गरिएको हो ।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिण क्षेत्रको किबुज एलुमिममा भएको हमासको आक्रमणपछि बन्दी बनाइएका थिए । उनी त्यस आक्रमण हुनुभन्दा केवल एक महिना अघि मात्र “सिक एण्ड कमाउ“ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल पुगेका थिए । त्यही समयमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए ।

हमासले सार्वजनिक गरेको भिडियोमा जोशी घाइते साथीलाई बचाउन खोज्ने क्रममा बन्दी बनाइएको दृश्य देखिएको थियो । त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो ।

नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली सुरक्षा निकायले जोशी जीवित रहेको कुनै प्रमाण फेला नपरेको जानकारी नेपाल सरकार र परिवारलाई पहिले नै गराएको थियो । विपिन जोशीको जन्म २०५७ सालमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–१० (पूर्व विजयपुर गाविस) मा भएको थियो । उनी बुबा महानन्द जोशी र आमा पद्मा जोशीका एकमात्र छोरा हुन् ।

२०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना नेपाली विद्यार्थी इजरायल पुगेका थिए । तीमध्ये केही विद्यार्थी अझै मनोवैज्ञानिक आघातबाट उबरिरहेका छन् ।

हालै इजरायल र हमासबीच भएको युद्धविराम पछि हमासले ४८ बन्धकहरूमध्ये २० जनालाई जीवित अवस्थामा रिहा गरेको छ। बाँकी शवहरूलाई दुई चरणमा अन्तर्राष्ट्रिय रेडक्रसलाई जिम्मा लगाउने बताइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो युद्धविरामका क्रममा इजरायल पुगेर बन्धक परिवारहरूसँग भेटघाट गरेका थिए। उनको पहलले मध्यपूर्वमा स्थायित्व र शान्ति कायम हुने आशा गरिएको अन्तर्राष्ट्रिय समुदायले व्यक्त गरेको छ । दुई वर्ष लामो प्रतीक्षापछि विपिन जोशीको पार्थिव शरीर फिर्ता आउनु नेपालका लागि दुःखद तर स्पष्ट उत्तर दिने क्षण बनेको छ ।

प्रतिक्रिया