काठमाडौं,२७ असोज – विश्वकै प्रतिष्ठित पत्रिका न्यूयोर्क टाइम्स ले नेपालमा भदौ २४ गतेका दिन भएका आगजनी र हिंसात्मक घटनालाई ‘राष्ट्रव्यापी, सुनियोजित र विध्वंसकारी आक्रमण’का रूपमा व्याख्या गरेको छ ।
आइतबार प्रकाशित खोजमूलक रिपोर्टमा न्यूयोर्क टाइम्सले देशभर एकैसाथ भएका आगलागी र सरकारी संरचनामाथिका हमलालाई सामान्य जनअसन्तोषको प्रतिक्रिया भन्दा पनि अभियोजित योजनाको नतिजा हुन सक्ने उल्लेख गरेको छ ।
भदौ २३ गते भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागी १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट देशभर सरकारी कार्यालय, अदालत, र निजी आवासमा एकैसाथ आगो लगाइँदा कम्तीमा ६ जिल्लामा ठूलो क्षति भएको थियो ।
सार्वजनिक बुझाइ अनुसार यो हिंसा ‘गोली काण्डको प्रतिशोध’ थियो, तर न्यूयोर्क टाइम्सको अनुसन्धानले यो कथनमाथि प्रश्न उठाएको छ ।
समाचारमा उल्लेख छ,“टाइम्सको टोलीले दर्जनौँ प्रत्यक्षदर्शी, प्रहरी अधिकारी, सहभागी र आगलगीविदहरूसँग कुरा गरी, भिडियो तथा तस्बिर विश्लेषणपछि निष्कर्ष निकालेको हो ।”
पत्रिकाले लेखेको छ, “भदौ २३ गते साँझ गोली चलेको केही घण्टामै सामाजिक सञ्जालमा ‘प्रयोग गर्न तयार सूची’ फैलिन थालेको थियो, जसमा कथित भ्रष्ट र नातावादी भनिएका व्यक्तिहरूका घर, अफिस र सम्पर्क ठेगाना उल्लेख थिए ।”
भोलिपल्ट दिउँसोसम्म ती सूचीकृत व्यक्तिहरूका आवासमा आगो सल्किसकेको थियो । न्यूयोर्क टाइम्सको शब्दमा, “नेपालको कार्यकारी, व्यवस्थापिका र न्यायपालिका शाखा समेत त्यस आगोको चपेटामा प¥यो ।”
एण्ड्र्यू मूर एण्ड एशोसिएट्सका वरिष्ठ आगजनी अनुसन्धानकर्ता रिचर्ड ह्यागरलाई उद्धृत गर्दै टाइम्सले लेखेको छ, “संगठनात्मक क्षमताबिना छोटो समयमा सयौँ भवनमा आगो लगाउन सम्भव छैन । यस्तो समन्वयका लागि हप्तौँ वा महिनौँको योजना आवश्यक पर्छ ।”
पत्रिकाले यी आगजनीलाई केही घण्टाभित्र भएका सयौँ हवाई आक्रमणसँग तुलना गर्दै नेपालका प्रमुख संरचनामाथि भएको ‘संगठित क्षेप्यास्त्र–स्तरको हमला’ भनिएको छ ।
नेपाल प्रहरीको फोरेन्सिक प्रयोगशालाका प्रमुख पवन ढुंगानालाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, “हाम्रो टिमलाई घटनाको अनुसन्धानका लागि हालसम्म कुनै नमूना पठाइएको छैन । अब ती भग्नावशेष परीक्षणयोग्य नै छैनन् ।”
यसले, समाचारका अनुसार, सरकारी संयन्त्रभित्रको अनुसन्धानगत कमजोरी र पारदर्शिताको अभाव झल्काएको छ । टाइम्सको रिपोर्टको अन्त्यमा भनिएको छ,“आगोले केवल भवन जलाएको छैन, संस्थागत विश्वास पनि खरानी बनाएको छ । यस्ता घटनाले नेपालजस्ता नाजुक लोकतन्त्रमा राज्य संयन्त्रको असफलता उजागर गर्छ ।”
अन्ततः टाइम्सले यो निष्कर्ष निकालेको छ, “नेपालमा भएको उक्त हिंसात्मक विस्फोट कुनै आकस्मिक प्रतिक्रिया नभई, ‘सुनियोजित दंगा र रणनीतिक विध्वंस’ थियो, जसले देशको राजनीतिक स्थायित्वमाथि दीर्घकालीन प्रभाव पार्न सक्छ ।
यो रिपोर्टले नेपालभित्रको सुरक्षा संयन्त्र, राजनीतिक स्वार्थ र जनभावनाबीचको असमतोलाई पुनः सतहमा ल्याएको छ । यदि टाइम्सले उठाएका प्रश्नहरूको विश्वसनीय अनुसन्धान भएन भने, ‘जेन–जी आन्दोलन’ नेपालकै इतिहासमा सबैभन्दा अपारदर्शी राजनीतिक घटनामध्ये एक बन्नेछ ।