काठमाडौं, २७ असोज – विद्युतीय चुरोट (भेप) भित्र लुकाइएका सुन तस्करी प्रकरणले अब पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) लाई पनि घेर्न थालेको छ । प्रहरी स्रोतका अनुसार पुन र उनका छोराहरूमाथि औपचारिक रूपमा अनुसन्धान सुरु गरिएको छ ।
यसअघि यही प्रकरणमा माओवादी केन्द्रकै अर्का उपाध्यक्ष र पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परिसकेका छन् । महरामाथि चिनियाँ संगठित गिरोहसँग मिलेमतोमा सुन तस्करी गरेको आरोप छ । अनुसन्धान क्रम बढ्दै जाँदा अब अनुसन्धानको दायरा पुन र उनको परिवारतर्फ पनि पुगेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
रोल्पा राङ्सीका स्थायी बासिन्दा पुनका परिवारजन विगतदेखि नै विवादमा मुछिँदै आएका छन् । दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्र पुनले ‘हुम्लाबासी’ भएको झूटा कागजात बनाएर सीमा वारपार गर्न गृह मन्त्रालयबाट परिचयपत्र लिएका थिए । त्यही पहिचानको प्रयोग गरी उनले चीनको ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग तमसुक गरेर चार किलो सुन बुझेको समाचार बाहिरिएको थियो ।
सुनको भुक्तानीबाफतको रकम नदिँदा विवाद सार्वजनिक बनेको र सोही घटनाको पृष्ठभूमिमा अहिले पुन परिवारमाथि पुनः अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतको भनाइ छ ।
पूर्वउपराष्ट्रपति पुनका कान्छा छोरा दिपेश पुन भने अहिले प्रहरीको खोजी सूचीमा छन् । उनी २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब नौ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको जाँचबुझ आयोगले पहिल्यै औंल्याएको थियो ।
त्यसैबेला सहकारी ठगी प्रकरणमा समेत पक्राउ परेका उनी पछि धरौटीमा रिहा भए पनि हाल फरार अवस्थामा भारतमा रहेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।
उपराष्ट्रपति पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ का रूपमा कार्यरत जीवनकुमार गुरुङ पनि २०८० साल फागुनमा सुन तस्करी आरोपमा पक्राउ परेका थिए । उनी पछि धरौटीमा रिहा भए पनि घटनामा पुनः जोडिएको बताइन्छ ।
त्यसैगरी पुनकी आफन्त अमला रोका पनि सो प्रकरणमा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । उनी ठमेलमा ‘होटल भियना’ सञ्चालन गर्दै आइरहेकी थिइन् र गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन् ।
नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार, “पूर्वउपराष्ट्रपति पुनका छोराहरू, सचिवालयका सदस्य र आफन्तहरू सुन तस्करी सञ्जालसँग जोडिएको प्रारम्भिक प्रमाण भेटिएको छ । त्यसैले अब पुन स्वयंमाथि पनि अनुसन्धान अघि बढाइएको छ ।”
पुनको चिनियाँ टोलीसँगको सम्बन्ध र विगतका विवादित गतिविधिहरूले प्रहरीलाई थप सतर्क बनाएको बताइएको छ ।
माओवादी केन्द्रका दुई उपाध्यक्ष पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन उही सुन तस्करी प्रकरणमा मुछिँदा राजनीतिक वृत्तमा हलचल मच्चिएको छ । प्रहरी अनुसन्धानको घेरो उच्च तहका नेतासम्म पुग्दा यो प्रकरण अब केवल तस्करी होइन, शक्ति र पैसाको गठजोडको सञ्जाल भित्रिएको ठानिएको छ ।