काठमाडौँ , २५ असोज- सत्ता गुमाएको एक महिनापछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली फेरि आफ्नै पुरानै लयमा फर्किनुभएको छ । सार्वजनिक उपस्थितिमा उहाँका अभिव्यक्तिहरूमा अझै सत्ताच्यूत भएको पीडा झल्किन्छ । तर यो आक्रोश भारतप्रति मात्रै केन्द्रित छ । बोलेर होइन, संकेतमार्फत । जसरी उहाँभित्र भारतप्रतिको असन्तोष उम्लिरहेछ, त्यसरी नै पार्टीभित्रबाटै आफूलाई धकेल्नेहरूप्रति पनि उनको रुष्टता उबलिएको देखिन्छ ।
डेढ वर्षसम्म दुईतिहाइको बलमा देश चलाएका ओलीले यसरी अपमानपूर्वक सत्ता गुमाउने कल्पना सायद कहिल्यै गर्नु भएको थिएन् । चीनमा रातो कार्पेटको स्वागत पाएर फर्किन नपाउँदै उहाँ दूधमा परेको झिंगोझैँ फालिनुभयो । ओली चीनमा भव्य स्वागत पाएर फर्किनुभएको थियो । तर फर्किन नपाउँदै भारत भ्रमण अनिश्चितकालका लागि रोकियो र देशभित्र ‘जेन(जी)’ युवा आन्दोलनले हिंसात्मक रूप लिँदा उहाँको कुर्सी चिप्लियो । अन्ततः उहाँ मकवानपुरको चनवन व्यारेकमा आश्रय लिन पुग्नुभयो । त्यसको नौ दिनपछि मात्र उहाँ गुण्डु भक्तपुरबाट सार्वजनिक हुनु भयो ।
तबदेखि उहाँले विश्वासपात्रहरूसँग भारतले आफूविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै आउनुभएको छ । तर जनतासामु उहाँले यो कुरा खुलेर कहिल्यै भन्नुभएको छैन् । पत्रकार सम्मेलनमा भने उहाँले, “देशको स्वाभिमानका लागि लडेका छौं, जसका लागि बलिदान दिन तयार छौं ’ भन्ने भाषण दिनुभयो । तर, केका लागि लडे र कसरी सत्ताबाट ढले भन्नेबारे अझै मौन हुनुहुन्छ ।
वास्तवमा ओलीको शासनकालमा सम्पूर्ण राज्य संयन्त्र उहाँको नियन्त्रणमा थियो । नेपाली सेनादेखि प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर विभाग सबै नेतृत्व उहाँले नै नियुक्त गर्नुभएको थियो । मन्त्री परिषद्का निर्णयदेखि प्रमुखहरूका सरुवा–बढुवासम्म ओली र आरजु देउवा जोडीको सिफारिस बिना सम्भव थिएन । यस्तो संरचना हुँदा पनि निहत्था युवामाथि गोली चल्ने अवस्था किन आयो ? त्यो आदेश कसले दियो ? यी प्रश्नहरूमा ओलीले अहिलेसम्म मुख खोल्नुभएको छैन् । ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक दुवैले “गोली हान्ने आदेश दिएका छैनौं” भनेर पन्छिनु भएपनि आदेश विदेशीको भनाइमा जनताले विश्वास गर्न सकेका छैनन् ।
यदि राज्य संयन्त्र पूर्ण रूपमा ओली–देउवा जोडीको नियन्त्रणमा थियो भने भारतले कसरी शासन हिलायो ? वा, सत्तामा हुँदा नै उनीहरूले भारतको मनोवाञ्छाअनुसार संयन्त्र बुनिरहेका थिए ? यी प्रश्नहरूको जवाफ बिना, “भारतले षड्यन्त्र ग¥यो” भन्ने दाबी जनतालाई विश्वास दिलाउन सक्दैन । त्यसैले, राजनीतिक विश्लेषकहरू भन्छन्,“ओलीले आफ्नो सत्ताच्यूति ‘षड्यन्त्र’ होइन, ‘शासकीय नालायकी’को परिणामका रूपमा बुझ्नुपर्छ ।
भदौ २३ मा भएको निहत्था युवामाथिको गोलीकाण्ड नेपाली राजनीतिमा कालो दाग बनेको छ । त्यस दिनको नरसंहारको जिम्मेवारी जतिसुकै पन्छिए पनि अन्ततः ओली र देउवामाथै पर्छ । त्यो घटनाको छायाबाट उनीहरू उम्कन अब इतिहासले अनुमति दिनेछैन । यदि ओली साँच्चै षड्यन्त्रको सिकार हुनुभएको हो भने, जनतालाई प्रमाणसहित बताउने दायित्व उहाँकै हो । नत्र, उनहाँो मौनता इतिहासकै कठघरामा दोष सावित हुनेछ ।