काठमाडौं,१८ असोज – नेपाल सरकारले असोज १९ र २० गते (आइतबार र सोमबार) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामार्फत यो निर्णय सार्वजनिक गरेको हो । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको र सोही कारण बाढी, डुवान, भूक्षय जस्ता प्राकृतिक विपद् आउन सक्ने सम्भावना रहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
वर्षाको प्रभावले सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्ने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्ने र मानवीय क्षतिको जोखिम बढ्ने देखिएकाले अत्यावश्यक सेवाबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय दुई दिनका लागि बन्द रहने छन् । नागरिकलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासन तथा सुरक्षासंस्थाले जारी गर्ने निर्देशनको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेका अनुसार, प्राकृतिक विपद्बाट जनजीवनलाई सुरक्षित राख्ने प्राथमिकतामा सरकारले यो कदम चाल्नु परेको हो । उहाँका अनुसार सार्वजनिक सुरक्षा र जनस्वास्थ्यलाई ध्यानमा राख्दै असोज १९ र २० गतेका लागि घोषणा गरिएको बिदाले नागरिकलाई सम्भावित जोखिमबाट जोगिन सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ ।