शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अविरल वर्षाले राजधानी छिर्ने मार्ग पूर्ण अवरुद्ध

शनिवार , आश्विन १८, २०८२

काठमाडौँ,१८ असोज — अविरल वर्षाले देशभर जनजीवन प्रभावित पारिरहेको बेला राजधानी काठमाडौँ उपत्यका छिर्ने सबै राजमार्ग र मुख्य प्रवेश मार्गहरू अवरुद्ध भएका छन् । निरन्तर परेको पानीका कारण सडकहरूमा पहिरो र बाढीका घटनाहरू बढेपछि राजधानी भित्रिने र बाहिरिने सम्पूर्ण आवागमन रोकिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोहाङखोला नजिक ठूलो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । यसले चितवन र पोखरा हुँदै धादिङतर्फ आवतजावत गर्ने सवारी साधनको आवाजाहीसमेत ठप्प पारेको छ ।

यस्तै, हेटौंडा हुँदै राजधानीतर्फ आउने कान्ति लोकपथमा अहिले ठूलो गाडी सञ्चालन रोकिएको छ भने मकवानपुरतर्फको फर्पिङ मार्ग पनि निरन्तर वर्षाले आएको पहिरोका कारण बन्द भएको प्रहरीको भनाइ छ । अर्कोतर्फ, सिन्धुली हुँदै काठमाडौं जोड्ने बी.पी. राजमार्गमा समेत भारी वर्षाको जोखिम देखिएकाले सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । यसरी उपत्यका छिर्ने सबै मुख्य राजमार्ग एकैपटक अवरुद्ध हुँदा यात्रुहरू बीचमा अलपत्र परेका छन् भने आपूर्तिमा समेत असर पर्ने देखिएको छ ।

प्रहरी उपरीक्षक सुवेदीले अत्यावश्यक कारणबाहेक तत्कालका लागि यात्रामा ननिस्कन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । उहाँले कुनै कारणले यात्रा गर्नैपर्ने अवस्थामा सम्बन्धित राजमार्गको अवस्था बुझेर मात्र सडक प्रयोग गर्न सुझाव दिनुभएको छ । निरन्तर वर्षासँगै पहिरोको जोखिम अझै बढ्ने भएकाले निकट भविष्यमै सडक खुल्ने निश्चित नभएको र उद्धार तथा मर्मतका काममा कठिनाइ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया