काठमाडौँ,०३ असोज – भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमै जेन–जी आन्दोलनकारीका नाममा प्रवेश गरेका समूहले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणामाथि गरेको आक्रमणपछि देउवाको स्वास्थ्य अवस्थाबारे थप विवरण बाहिर आएको छ ।
काँग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जानकारी दिँदै भन्नुभयो, “सभापतिज्यूको टाउको पछाडिको भागमा गहिरो चोट लागेको छ, जसलाई सिलाउनका लागि १२ वटा टाँका लगाउनुपरेको छ ।” उहाँका अनुसार आक्रमणको क्रममा धारिलो हतियार प्रयोग भएको स्पष्ट प्रमाण देखिएको छ । रेन्च, मार्तल र ह्यामर जस्ता हतियार प्रयोग भएको आशंका गरिएको छ ।
हाल सैनिक अस्पतालमा उपचाररत देउवालाई हिँडडुल गर्दा चक्कर आउने, बोल्न कठिन हुने र सामान्य गतिविधिमा समस्या देखिएको भए पनि उपचारपछि क्रमशः सुधार भइरहेको जनाइएको छ । विश्वकर्माका अनुसार डाक्टरहरूले अझै केही दिन अस्पतालमै राख्न सिफारिस गरेका छन् ।
बैठकमा पार्टी नेताहरूले सभापति देउवा र आरजु राणामाथि भएको अमानवीय आक्रमणलाई निन्दा गर्दै यसलाई लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रत्यक्ष आघातको रूपमा लिएका छन् । “गृह आँगनमै लछारपछार पार्ने, कुटपिट गर्ने मात्र नभई आगजनीसम्म गरिएको घटनाले राजनीतिक हिंसाको खतरनाक स्वरूप देखाएको छ,” विश्वकर्माले भन्नुभयो ।
हाल देउवा अस्पतालमै उपचाररत रहँदा पनि पार्टी गतिविधिबारे जानकारी लिइरहेको र आवश्यक परामर्श दिइरहेको उल्लेख गरिएको छ । काँग्रेस नेताहरूले शीघ्र स्वास्थ्यलाभको शुभकामना दिँदै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।