काठमाडौं,०३ असोज – जेन–जी आन्दोलनले राजधानीदेखि देशभर आन्दोलनको ज्वारभाटा चढाउँदा राजनितक दलका शीर्ष नेताहरू भने जनतासँगै उभिनुको साटो सैनिक व्यारेक र सुरक्षित बंकरमा आश्रय लिन पुगेका थिए । आन्दोलनकारीको भीडसँग सामना गर्न नसकेपछि प्रधानमन्त्रीदेखि मन्त्री र ठूला नेतासम्मलाई सेनाले हेलिकोप्टरमार्फत विभिन्न व्यारेकमै लुकाइदिएको तथ्य सार्वजनिक भएको छ ।
उच्च सुरक्षा स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाद्र २४ गते साँझै बालुवाटारबाट सेनाको हेलिकोप्टरमार्फत उद्वारगरी मकवानपुरस्थित चनवन व्यारेकमा पु¥याइएको थियो । ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव राजेश बज्राचार्य पनि त्यही व्यारेकमै राखिएको थियो । असोज २ गते मात्र उहाँहरू पुनः सैनिक हेलिकोप्टरमार्फत काठमाडौं फर्काइएका थिए । उहाँहरुलाई सैनिक हेलिकप्टरले त्रिभुवन अन्तर्राष्टिय विमानास्थल ल्याएर छाडेको थियो । त्यसपछि ओली र उहाँको चारजनाको समूह नै भक्तपुरको गुण्डुमा खोजिएको डेरामा जानुभएको थियो ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने सेनाले नभई आफ्नै पहलमा भारतीय दूतावास, लैनचौरमा पुग्नुभएको थियो । अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारस्थित व्यारेकमै राखिएको थियो । उहाँ त्यहाँ केही दिन बसेपछि स्थिति साम्य भएपछि बाहिरिनुभयो । बाबुराम भट्टराईलाई शिवपुरीको सैनिक शिक्षालयमा लगिएको थियो । उहाँले सैनिक व्यारेकमा सुरक्षित हुन चाहेको बताएपछि त्यहाँ लगिएको थियो । उहाँले आन्दोलन शान्त नहुँदासम्म व्यारेकको सुरक्षा घेरÞामै दिन काटनुभएको थियो ।
त्यसैगरी सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितका न्यायाधीशहरूलाई सिंहदरबारको व्यारेकमै राखिएको थियो । नेपाली सेनाको भैरवनाथ गणमा भने सरकारका १३ जना मन्त्री र उनीहरूका परिवारलाई मन्त्री क्वार्टरबाटै हेलिकोप्टरमार्फत लगिएको थियो ।
आन्दोलनकै बीचमा केही मध्यमस्तरका नेताहरूलाई नारायणहिटीस्थित व्यारेकमै राखिएको खुलेको छ । उनीहरु को को थिए भन्ने विवरण खुलिसकेको छैन । स्रोतका अनुसार, नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई उद्दार गर्न निकै सकस परेको थियो । घर घेरेका हुलदंगाबीच सेनाले हुल नहटे गोली नै चलाउने भनेपछि हुल पछि हटेको र साँझ ५ बजेतिर गगन र उहाँको परिवारलाई रेस्क्यू गरी गगनले नै भनेको अर्को घरमा लगेर राखिएको थियो ।छिमेकीको घरतर्फ पु¥याइएका थापा अन्ततः सुरक्षाकर्मीहरूले साँझपख मात्र सुरक्षित स्थानमा लग्न सकेका थिए ।
जनताले सडकमा ज्यानको जोखिम मोलेर आन्दोलन चर्काइरहेका बेला नेताहरू सेनाको व्यारेक र सुरक्षित बंकरमा लुकेर बसेको यो घटनाले मुलुकको राजनीतिक नेतृत्वमाथि प्रश्न खडा गरेको छ । आक्रोशित जनताले भोगेको त्रास र पीडाभन्दा अलग, नेताहरूका लागि विशेष सुरक्षा प्रबन्ध मिलाइएको तथ्यले ‘सत्ता जनताका लागि कि नेताहरूका लागि ?’ भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।