काठमाडौं,०२ असोज – निजी क्षेत्रको प्रमुख दूरसञ्चार कम्पनी एनसेलले शुक्रबार बिहान तीन घण्टा आफ्नो सेवा अस्थायी रूपमा बन्द रहने जानकारी गराएको छ । कम्पनीले जारी गरेको सूचनामा उल्लेख भएअनुसार शुक्रबार बिहान १ बजेदेखि ४ बजेसम्म नियमित सुधार तथा प्राविधिक कार्य हुने भएकाले सो अवधिमा विभिन्न सेवा प्रयोग गर्न नपाइनेछ ।
एनसेलका अनुसार सो समयमा मोबाइल रिचार्ज, विभिन्न प्याक तथा सेवाहरू सक्रिय पार्ने प्रक्रिया, एनसेल एप, च्याट, कोडमार्फत हुने सुविधा र वेबसाइटमार्फत उपलब्ध हुने सम्पूर्ण सेवा अवरुद्ध हुनेछन् । कम्पनीले आफ्ना ग्राहकहरूलाई विश्वसनीय तथा गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराउने उद्देश्यले यस्तो सुधार प्रक्रिया गरिनु परेको जनाएको छ ।
ग्राहकहरूलाई यसबीच असुविधा हुने परिस्थितिप्रति कम्पनीले क्षमायाचना गर्दै, सुधार कार्य सकिएपछि सेवा पहिलेझैँ सुचारु रूपमा उपलब्ध हुने आश्वासन दिएको छ। एनसेलले आफ्ना प्रयोगकर्ताहरूप्रति आभार व्यक्त गर्दै प्राविधिक पक्ष अझ सुदृढ बनाउन निरन्तर पहल भइरहेको उल्लेख गरेको छ ।
