काठमाडौं,०१असोज – स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ मिति तय भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गर्नुपरेको थियो । तर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले नयाँ तालिका सार्वजनिक गर्दै परीक्षा यही असोज ७ र ८ गते हुने जनाएको छ ।
नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) को परीक्षा हुनेछ । त्यस्तै, एक विषय मात्र परीक्षामा सहभागी हुने विद्यार्थीले सोही दिन आफ्नो विषयको परीक्षा दिनेछन् भने दुई विषयमा सहभागी हुने विद्यार्थीले सानो कोड भएको विषयको परीक्षा त्यही दिन दिनुपर्नेछ । तर, अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय परीक्षा दिने विद्यार्थीले भने पहिलो दिन अंग्रेजी र दोस्रो दिन अर्थात् ८ गते नेपाली विषयको परीक्षा दिनुपर्नेछ ।
असोज ८ गते भने दुई विषय परीक्षा दिने परीक्षार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा तोकिएको छ । तर अंग्रेजी विषय भने पहिलो दिनमै हुने भएकाले दोस्रो दिन अंग्रेजीको परीक्षा रहने छैन । यसरी स्थगित परीक्षा तालिका सार्वजनिक भएपछि विद्यार्थीहरूमा पुनः तयारीको वातावरण बनेको छ । बोर्डले परीक्षा समयमा शान्तिपूर्ण र सहज ढंगले सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ ।
