शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नयाँ सरकार गठनसँगै जनजीवन सामान्य: हट्यो कर्फ्यु र निषेधाज्ञा

शनिवार , भाद्र २८, २०८२

काठमाडौँ, २८ भदौ – नयाँ सरकार गठनसँगै आन्दोलनपश्चात् असामान्य बनेको देशको वातावरण अहिले फेरि सामान्यतर्फ फर्किएको छ । केही दिनअघिसम्म मुलुकका विभिन्न क्षेत्रमा जारी कर्फ्यु र निषेधाज्ञाले जनजीवन अप्ठ्यारो बनाएको थियो भने, आजदेखि ती सबै हटाइएपछि आम नागरिकले सहज ढंगले आफ्नो दैनिकी अगाडि बढाउन थालेका छन्। कार्यालय, बजार, विद्यालय र यातायात सेवाहरू पुनः सञ्चालनमा आएका छन् । विगतका तनाव र डरलाई विस्मृतिमा छाड्दै युवापुस्तासहित सम्पूर्ण देशवासीको अनुहारमा खुसी झल्किएको छ ।

यो परिवर्तनको पृष्ठभूमिमा भ्रष्टाचार अन्त्य र सुशासन प्रवर्धनको मागलाई प्राथमिकतामा राख्दै जेन–जी आन्दोलनले देशमा नयाँ राजनीतिक समीकरण निर्माण ग¥यो । आन्दोलनकै दबाबमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । मुलुकको इतिहासमै पहिलोपटक न्याय क्षेत्रबाट आएका नेतृले मुलुकको कार्यकारी नेतृत्व सम्हालेकी छन् । यसले आन्दोलनकारी र आमनागरिक दुवैलाई आशा र भरोसाको नयाँ आधार दिएको छ ।

सरकारले पनि स्पष्ट संकेत दिएको छ कि वर्तमान स्थायित्व अस्थायी हो र तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरेर जनादेशअनुसार सत्ता हस्तान्तरण गरिनेछ । यसबीच सरकारले शान्ति–सुरक्षा कायम गर्दै कानुनी शासनको अनुभूति दिलाउने प्राथमिकतामा ध्यान केन्द्रित गर्ने जनाइएको छ ।

युवापुस्ताले उठाएको ‘परिवर्तन र सुशासन’ को नारा अब केवल आन्दोलनको स्वरमा सीमित नभई सरकारी नीति र योजनामा प्रतिबिम्बित भएको देखिएको छ । विगतका अशान्ति, हिंसा र अविश्वासपछि अहिले देशभर शान्ति र सुव्यवस्थाको माहोल बनेको छ, जसले मुलुकलाई स्थिरता र भविष्यप्रतिको विश्वासतर्फ अघि बढाएको छ ।

यद्यपि, सामान्यतर्फ फर्किएको जनजीवनले स्थिरताको संकेत दिएको भए पनि सरकारको वास्तविक चुनौती अझै बाँकी छ । पहिलो, आन्दोलनले उठाएका मुद्दाहरू व्यवहारिक रूपमा कसरी सम्बोधन गर्ने ? दोस्रो, तोकिएको समयसीमाभित्र स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने । तेस्रो, मुलुकलाई सुशासन र कानुनी राज्यतर्फ स्थिरतापूर्वक लैजाने। यी तीनै चुनौती पूरा गर्न असफल भएमा वर्तमान सरकारमाथिको विश्वास गुम्ने खतरा रहनेछ ।

विगत केही वर्षयता मुलुकले बारम्बार अस्थिरता, भ्रष्टाचार र कमजोर शासन व्यवस्था देख्दै आएको छ । यसपटक भने नागरिकले तत्कालै परिणाम देख्ने अपेक्षा राखेका छन्। सडकमा उत्रिएका युवाले अब सरकारलाई ‘अवसर होइन, परिणाम’ मा मूल्यांकन गर्ने चेतावनी दिएका छन् ।

कफ्र्यु र निषेधाज्ञा हट्नु, जनजीवन सामान्य हुनु र बजारमा चहलपहल बढ्नु तत्कालको राहत हो । तर, स्थायित्व, सुशासन र पारदर्शिता सुनिश्चित गर्नु वर्तमान नेतृत्वको वास्तविक परीक्षा हो। नयाँ सरकारप्रति देखिएको उत्साह स्थायित्वमा परिणत हुनेछ वा फेरि निराशामा—अबको राजनीतिक यात्रा त्यहीँ केन्द्रित हुने देखिन्छ ।

प्रतिक्रिया