शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेताका घर–महल धुवाँ र खरानी :महलदेखि सडकमा झरे

शनिवार , भाद्र २८, २०८२

काठमाडौं,२८ भदौ – भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनले देशलाई क्षणभरमै धुवाँ र खरानीले ढाकिदियो । सडकमा उठेको जनआक्रोश केवल नाराबाजीमै सीमित भएन, यसले प्रत्यक्ष रुपमा शक्तिशाली भनिएका नेताहरूका आलिशान महल र निजी निवाससम्म ठोक्कियो । क्षणभरमै देखिन थालेको दृश्य धुवाँमाथि धुवाँ, आगोमाथि आगो थियो, जसले एकपछि अर्को नेताका घरलाई प्रतिशोधको रापमा विलीन ग¥यो । निजी घरदेखि सरकारी भवनसम्म, राजधानीदेखि जिल्लासम्म आन्दोलनकारीले आक्रोशको चिनो छाडे, जहाँ नेताहरूको दशकौंको ‘जवानी’ले बनाएको महल पलभरमै खरानीमा परिणत भयो ।

सबैभन्दा चर्चित दृश्य एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजि निवासमा देखियो, जहाँ दनदनी आगोले उहाँको महललाई चपेटामा लियो । यसैबीच, ओलीको तेह्रथुमको पुख्र्यौंली घर र झापास्थित अर्को निवास पनि सुरक्षित रहन सकेनन् । राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासदेखि पूर्व–राष्ट्रपति विद्यादेवी भण्डारीको घरसम्म आगोले अछुतो छोडेन । सत्ता र शक्तिको उच्च तहमा रहेका नेतासमेत आन्दोलनकारीको प्रतिशोधी आगोबाट बच्न सकेनन् ।

आन्दोलनकारीको लक्ष्यमा एमाले, काँग्रेस, माओवादी र समाजवादी दलका शीर्ष नेताहरूको निजी सम्पत्ति रहे । एमालेतर्फ पृथ्वी सुब्बा गुरुङ, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णुप्रसाद पौडेल, पदम गिरी, सुरेन्द्र पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, रघुवीर महासेठ, योगेश भट्टराई, गोर्कण विष्ट, सूर्य थापा र कोमल वलीसम्मका घरहरू खरानीमा परिणत भए । काँग्रेसतर्फ शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, दिपक खड्का, रमेश लेखक र उद्योगपति विनोद चौधरीसम्मका निवासमा क्षति पुगेको विवरण बाहिर आएको छ ।

त्यसैगरी, माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को खुमलटार र चितवनस्थित निवासदेखि प्रचण्डकी छोरी गंगा दाहाल, नारायणकाजी श्रेष्ठ, नन्दबहादुर पुन, कृष्णबहादुर महरा, अग्नि सापकोटा, माधवसापकोटा (सुवोध) र रामनारायण बिडारीका घरहरूमा पनि क्षति पुगेको छ । उता, एकीकृत समाजवादीका माधवकुमार नेपाल र झलनाथ खनालको निवास पनि आन्दोलनकारीको आगोले अछुतो रहन सकेन ।

यता, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, प्रदीप यादवको घरमा पनि आगजनी भएको छ भने नाउपाका संरक्षक रेशम चौधरीको घरसमेत लुटपाट र क्षतिग्रस्त भएको विवरण सार्वजनिक भएको छ ।

तर, सम्पूर्ण विवरण अझै आउन बाँकी छ । ‘जेन–जी’ आन्दोलनको आगोले क्षणभरमै दशकमै बनेका नेताका घर–महल ध्वस्त पारे पनि यसले जनआक्रोश कति गहिरो छ भन्ने सन्देश दिएको छ । सत्ताको आडमा बनेका महलहरू जनआन्दोलनको क्षणिक रापसँगै खरानीमा परिणत हुँदा, मुलुकले फेरि एकपटक “जनताको क्रोध अगाडि महलको उचाइ टिक्दैन” भन्ने ऐतिहासिक दृश्य देख्यो ।

प्रतिक्रिया