शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एशियाकै भव्य दरबार : राणाको महलदेखि जनताको सिंहदरबारसम्मको यात्रा

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौं — नेपालको प्रमुख प्रशासनिक केन्द्रका रूपमा परिचित सिंहदरबार केवल एउटा सरकारी भवन मात्र होइन, शताब्दी लामो इतिहास, ऐश्वर्य र राजनीतिक नाटकीयताका अनेकौं पानाहरू बोकेको स्मारक हो । आजभन्दा करिब ११७ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नै निजी आवासका रूपमा निर्माण गराएको यो दरबार एक वर्षमै तयार भएको थियो । उहाँको २९ वर्षे शासनकालमध्ये २८ वर्ष यही दरबारमा बित्यो । यही दरबारबाट उहाँले वि.सं. १९८२ वैशाख १ मा दासप्रथा अन्त्य गर्ने ऐतिहासिक घोषणा गर्नुभएको थियो । युरोपेली पल्लादियन, नियोक्लासिकल, कोरिन्थियन र बारोक शैलीको मिश्रणमा डिजाइन गरिएको यो दरबारलाई कुमार नरसिंह राणा र किशोर नरसिंह राणाले तयार गर्नुभएको थियो । प्रवेशद्वारमा जडित दुई सिंहका मूर्तिका कारण यसलाई सिंहदरबार नाम दिइएको थियो ।

निर्माण सम्पन्न भएपछि चन्द्र शमशेरले दरबारलाई २ करोड रुपैयाँमा नेपाल सरकारलाई बेच्नुभयो र त्यसपछि यो प्रधानमन्त्रीहरूको सरकारी आवासमा परिणत भयो । पद्म शमशेर बाहेक अन्य राणा प्रधानमन्त्रीहरूले यसलाई प्रयोग गर्नुभयो भने मोहन शमशेर सिंहदरबारमा बस्ने अन्तिम राणा प्रधानमन्त्री बन्नुभयो । २००७ सालमा राणा शासन पतन भएपनि उहाँ अझै यहीँ बसिरहे, तर २००९ सालमा सरकारले सिंहदरबारलाई राष्ट्रिय सम्पत्तिको रूपमा अधिग्रहण गर्यो ।

सिंहदरबारको आन्तरिक सजावट एशियाकै भव्यतामा गनिन्थ्यो । १७०० कोठा र ८ वटा चोक भएको यो दरबारमा सिंगमरमरको भुइँ, कलात्मक छत, चाँदीका फर्निचर, बेल्जियमका ऐना, इंग्ल्यान्डका रंगीन काँचका झ्याल–ढोका र इटालियन सिङ्गमरमर प्रयोग गरिएको थियो । सबैभन्दा ठूलो ‘स्टेट हल’ विदेशी कलाका वस्तुहरूले सजाइएको थियो, जसमा युरोपबाट आयात गरिएका क्रिस्टलका झूमर र अन्य विलासी वस्तु राखिएका थिए ।

यसै दरबारभित्र जुद्ध शमशेरले विदेशी पाहुनाहरूसँग भेटघाट गर्ने ग्यालरी बैठक बनाए, जसलाई पछि संसद भवनको रूपमा प्रयोग गरियो । तर २५ असार २०३० मा विद्युत् सर्टका कारण भएको आगलागीले सिंहदरबारको स्वरूप ठूलो मात्रामा नष्ट गर्यो । मानवीय क्षति नभए पनि परराष्ट्र मन्त्रालयका महत्वपूर्ण कागजात खरानी भए र तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले त्यसको राजनीतिक जिम्मेवारी लिँदै राजीनामा दिए । त्यसपछि पुनर्निर्माणमा लागिए पनि पुरानै मौलिकता पूर्णरूपमा फर्काउन सकिएन ।

इतिहासमा सिंहदरबार केवल शासन प्रशासनको केन्द्र मात्र थिएन, राजनीतिक निर्णय र दमनको थलो पनि बन्यो । यही दरबारबाट दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । यसरी सिंहदरबार नेपालको राजनीतिको उत्थान–पतन, दमन–विद्रोह, र ऐतिहासिक घोषणाका साक्षी बनेर आजसम्म उभिएको छ । भव्य ऐश्वर्य र वैभवको नमूना रहे पनि यसले नेपालको लोकतान्त्रिक यात्राको धाकड र पीडादायी दुवै स्मृतिहरूलाई बोकेको जीवित प्रतीक बनेको छ ।

प्रतिक्रिया