शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अन्तरिम प्रधानमन्त्रीलाई राख्ने स्थानबारे अन्योल

शुक्रवार , भाद्र २७, २०८२

काठमाडौँ, २७ भदौ – राष्ट्रपति शीतलनिवासमा अन्तरिम सरकार गठनबारे गहन वार्ता चलिरहेको छ भने सिंहदरबार परिसरमा भने अर्को चासो छ—नयाँ प्रधानमन्त्रीलाई कहाँ राख्ने ? जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगलागीले सिंहदरबारको करिब ८० प्रतिशत संरचना र सामग्री ध्वस्त भएपछि अहिले मन्त्रालय र निकायहरूको अस्थायी व्यवस्थापनबारे निर्णय गर्न मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरू व्यस्त छन् ।

निरीक्षणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राख्ने सम्भावित स्थानको खोजी भइरहेको एक सचिवले जनाए । प्रारम्भिक छलफलमा गृह मन्त्रालयका लागि निर्माणाधीन नयाँ भवन वा पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनलाई वैकल्पिक रुपमा प्रयोग गर्ने तयारी छ । सामान्य प्रशासन नयाँ भवनमा सरेपछि पुरानो भवन परराष्ट्र मन्त्रालयका लागि छुट्याउने सम्भावना पनि देखिएको छ ।

यसरी मन्त्रालय तथा कार्यालयको अस्थायी व्यवस्था गर्ने प्रस्ताव सहरी विकास मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाउने प्रचलन भए पनि अहिलेको असामान्य परिस्थितिमा मुख्यसचिवकै निर्णयलाई प्राथमिकता दिइने भएको हो । तर अन्तिम निर्णय भने अन्तरिम मन्त्रिपरिषद गठन भएपछि मात्रै प्रक्रियागत रूपमा हुनेछ ।

सचिवहरूको भनाइमा, आन्दोलनको क्रममा सबैभन्दा बढी क्षति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय, गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा पुगेको छ । अन्य मन्त्रालय पनि आंशिक रूपमा क्षतिग्रस्त भएपनि केही भवन अझै सञ्चालनयोग्य अवस्थामा रहेको छ । सिंहदरबारभित्र रहेका प्रमुख दलका संसदीय दलका कार्यालय भने पूर्ण रूपमा ध्वस्त भएको पाइएको छ ।

शुक्रबारदेखि कर्मचारीहरू क्षतिको प्रारम्भिक मूल्यांकन, काम लाग्ने र नलाग्ने सामग्री छुट्याउने कार्यमा खटिएका छन् । तर, आन्दोलनकारी जेनजी समूहले अन्तरिम प्रधानमन्त्रीलाई कहाँ राख्ने भन्ने विषयमा सहमति जनाउने वा नयाँ प्रस्ताव ल्याउने भन्ने प्रश्न अझै खुला छ । यसरी सरकार गठनसँगै प्रधानमन्त्री बस्ने कार्यालय खोज्ने अनौठो परिस्थिति मुलुकले पहिलोपटक भोगिरहेको छ ।

प्रतिक्रिया