शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अनाधिकृत हातहतियार बुझाउन नेपाली सेनाको आग्रह

बुधवार , भाद्र २५, २०८२

काठमाडौं, २५ भदौ – जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका वा सर्वसाधारणले फेला पारेका हातहतियार, गोलीगठ्ठा र अन्य सुरक्षा सामग्री नजिकैको सुरक्षाकर्मीलाई तत्काल बुझाउन नेपाली सेनाले आग्रह गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ— आन्दोलनकै क्रममा हराएका वा सर्वसाधारणको हातमा पुगेका हातहतियार दुरुपयोगमा पर्न सक्ने, जनधनको क्षति बढ्ने र कानूनी समस्यामा फस्न सक्ने भएकाले त्यस्ता सामग्री तुरुन्त सम्बन्धित निकायलाई बुझाउनु अपरिहार्य छ। सेनाले यसलाई नागरिक उत्तरदायित्वको रूपमा बुझ्न आह्वान गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “यदि कसैसँग हातहतियार वा गोलीगठ्ठा फेला परेको अवस्थामा सुरक्षाकर्मीलाई जानकारी दिनु र स्वेच्छाले बुझाउनु सबैको हितमा हुन्छ। त्यसो नगरे प्रचलित कानुनअनुसार कारबाही हुन्छ।” सेनाले यस्ता संवेदनशील वस्तु नलुकाउन, नगुप्त्याउन र प्रयोग नगर्न चेतावनी दिँदै सुरक्षा पोशाक वा चिन्हको पनि अनधिकृत प्रयोग नगर्न आग्रह गरेको छ।

सेनाले सुरक्षासम्बन्धी सामग्री फेला परेका व्यक्तिहरूलाई सजग रहनुका साथै आफ्नो नजिकैको प्रहरी, सशस्त्र प्रहरी वा सेनाको सम्पर्कमा आएर बुझाउन प्रेरित गर्न समाजका सबैलाई अनुरोध गरेको छ। सेनाको भनाइमा, यस्तो सहकार्यले मात्रै सम्भावित दुर्घटना वा अप्रिय घटना टार्न सकिन्छ।

प्रतिक्रिया