शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली अस्पतालमा सिजनल फ्लुका बिरामी बढे, औषधि अभाव

सोमवार , भाद्र ९, २०८२

सिन्धुली,०९ भदौ – बर्षायाम सुरु भएसँगै सिन्धुली अस्पतालमा मौसमी फ्लुका बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ । दुषित पानी र खानपानका कारण ज्वरो, टाइफाइड, झाडापखाला, दम लगायतका रोगले पीडित बिरामीहरूको संख्या अघिल्लो महिना दैनिक तीन सयको हाराहारीमा रहँदै आएकोमा अहिले बढेर पाँच सयसम्म पुगेको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अभिषेक थपलियाका अनुसार बिरामी बढ्नुको मुख्य कारण नै ‘सिजनल फ्लु’ हो । उहाँले हाल दैनिक चारदेखि पाँच सय बिरामी ओपीडीमा आउँने र ईमर्जेन्सीमा मात्रै पनि करिब ४०–५० बिरामी उपचारका लागि आउने गरेको बतउनुभयो । उहाँका भनाइमा, धेरैजसो बिरामी ज्वरो, झाडापखाला, टाइफाइड र दम रोगका रहेका छन् ।

सिन्धुली अस्पतालमा सल्यक्रियाको संख्यामा समेत वृद्धि भएको छ । विगतमा सर्जरीका लागि काठमाडौं वा अन्य सहर धाउनुपर्ने बाध्यता रहेकामा अहिले जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था सिन्धुली अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध भएपछि बिरामीको आकर्षण बढेको हो । अस्पतालले पछिल्ला पाँच वर्षयता विशेषज्ञ चिकित्सा सेवा विस्तार गर्दै आएको छ, जसका कारण स्थानीयले विश्वासपूर्वक उपचारका लागि अस्पताल रोज्न थालेका छन् ।

कमलामाई नगरपालिका–६ का शिक्षक ध्रुब पहाडी हाल झाडापखालाका कारण अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्छ । उहाँले खानपानमा लापरबाहीकै कारण समस्या भएको भन्दै दुई दिनदेखि उपचार गराइरहेको बताउनुभयो ।

५० शैयाबाट क्षमता विस्तार गरी हाल एक सय शैयासहित सञ्चालित अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सक र नौ जना मेडिकल अधिकृत कार्यरत छन् । अपाङमैत्री लिफ्टसहितको अढाई तले आधुनिक भवन निर्माण भएपनि एक सय शैयाको क्षमता धान्नसमेत कठिनाइ भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

तर, बिरामी उपचार मात्र होइन, औषधि आपूर्तिमा भने गम्भीर समस्या देखिएको छ । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले अस्पताललाई दिनुपर्ने करिब सात करोड रुपैयाँ लामो समयदेखि भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा चुनौती आएको हो । यस कारण अस्पतालको फार्मेसीमा निःशुल्क उपलब्ध हुने ९८ प्रकारका औषधि मध्ये अधिकांश सकिएका छन् । स्वास्थ्य विमा गरेका बिरामीले अहिले बाहिरको औषधि पसलबाट औषधि किन्नुपर्ने बाध्यता छ ।

अस्पताल विकास समितिका अध्यक्ष शतिषचन्द्र ढकालले बिमा बोर्डले गत भदौदेखि नै रकम नपठाएको बतउदै भन्नुभयो, “बिरामीलाई दिनुपर्ने औषधि सकिँदै गएको छ, चिकित्सकलाई दिनुपर्ने इन्सेन्टिभ रकम पनि रोकिएको छ ।” उहाँले हालसम्म जिल्लामा करिब एक लाख ४३ हजार भन्दा बढीले स्वास्थ्य बिमा गरेका छन्, तर आधाभन्दा बढी बिरामी स्वास्थ्य बिमा गरेर आउने भएकाले औषधि अभावले उनीहरू मारमा परेको बताउनुभयो ।

अस्पताल प्रशासनले यसअघि दुई–तीन महिनाको अन्तरालमा बिमा रकम पाउने गरेकोमा पछिल्ला महिनामा लामो समयदेखि रकम नआउँदा दैनिक सेवा प्रवाहदेखि चिकित्सक व्यवस्थापनसम्म प्रभावित भएको बताएको छ । “अहिले हामी चिकित्सकलाई एक मुष्ट पाउने आश्वासन दिएर काममा लगाएका छौं,” अध्यक्ष ढकालले भन्नुभयो, “तर यसरी लामो समयसम्म निरन्तर समस्या रहिरहे सेवा प्रवाहमा गम्भीर असर पर्न सक्छ ।”

प्रतिक्रिया