काठमाडौं,०६ भदौ – विद्यालय शिक्षा विधेयक संसदमा टेबुल भएपछि शिक्षकहरु फेरि आन्दोलनतर्फ उन्मुख भएका छन् । नेपाल शिक्षक महासंघले भदौ शुक्रवार पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको छ । माग सम्बोधन नभएको असन्तुष्टि मात्र होइन, विगतको अनुभव, शिक्षकको असुरक्षा, अभिभावक र विद्यार्थीमा पर्ने असर यी सबै कारणले यो आन्दोलनले व्यापक रूप लिन सक्ने देखिन्छ ।
सरकारले पेस गरेको विद्यालय शिक्षा विधेयकले आफ्ना माग सम्बोधन नगरेको भन्दै नेपाल शिक्षक महासंघले राजधानीमा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ ।
भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ । । भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।
भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । अध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमा भन्नुभयो,“‘०८१÷८२ को भन्दा कडा आन्दोलन गर्छौं ।”
महासंघले गत चैत महिनामा २० देखि २९ दिनसम्म पनि विद्यालय शिक्षा विधेयकविरुद्ध व्यापक आन्दोलन गरेको थियो । २९ दिनसम्म विद्यालय ठप्प पारिएको थियो र काठमाडौं केन्द्रित प्रदर्शनले विद्यालय शिक्षाको व्यवस्थापन र निजी–सरकारी स्कुलबीचको अधिकारसम्बन्धी बहसलाई चर्काएको थियो ।
त्यो आन्दोलनपछि सरकारले केही संशोधन गर्ने आश्वासन दिए पनि हालसम्म ठोस पहल नभएको महासंघको आरोप छ ।
शिक्षक महासंघका पदाधिकारीहरूका अनुसार हालको विधेयकले शिक्षकको हक, हित र पेशागत स्थायित्वलाई कमजोर बनाएको छ । शिक्षकलाई गैर–नाफामूलक संस्थामा मात्र सीमित गर्ने प्रावधान हटाउनुपर्ने । सेवा सुरक्षाको सुनिश्चितता र पदोन्नतिमा समानता । निजी तथा सार्वजनिक विद्यालयबीच स्पष्ट अधिकार विभाजन । शिक्षकलाई स्थानीय सरकारको ‘आदेश पालक’ होइन, पेशागत व्यक्तित्वका रूपमा स्वीकार्ने व्यवस्थाजस्ता शिक्षक महासंघका मुख्य मागहरू छन ।
शिक्षा विधेयकलाई लिएर फेरि एकपटक शिक्षक र सरकारबीच टकराव बढ्ने संकेत देखिको छ । पहिलो चरणमा ध्यानाकर्षण र धर्ना जस्ता सौम्य गतिविधि भए पनि दोस्रो चरणमा सडक तताउने कार्यक्रम आउँछ भन्ने स्पष्ट संकेत मिलिसकेको छ ।