सिन्धुली,०५ भदौ — डेंगु संक्रमण फैलिरहेको बेला जापानीज इन्सेफलाइटिस (जे.ई.) को जोखिम बढेपछि सिन्धुलीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका र जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको सयुक्त आयोजनामा कमलामाई नगरपालिका–५ जनप्रतिनिधि र स्थानियलाई बिहीबार आयोजित सचेतना तथा अभिमुखीकरण कार्यक्रममा सरोकारवालाहरूले रोग नियन्त्रणका लागि सामूहिक पहल आवश्यक भएको औंल्याए ।
वडाध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्यकर्मी, नागरिक समाजका प्रतिनिधि र सरोकारवालाहरू सहभागी थिए । वडाध्यक्ष खड्काले जे.ई. नियन्त्रणका लागि स्वास्थ्य स्वयंसेवकदेखि आम नागरिकसम्म सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगर स्वास्थ्य शाखालाई बढी जोखिममा रहेका क्षेत्रमा विशेष निगरानी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो ।
कमलामाई नगरपालिका स्वास्थ्य शाखा प्रमुख खेमबहादुर थापाले जे.ई. लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले सरसफाइ, जनचेतना र सतर्कता नै रोग नियन्त्रणको मूल उपाय रहेको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधि डा. रुपेश तिमल्सिनाले जापानीज इन्सेफलाइटिसको प्रकृति, लक्षण र नियन्त्रण उपायबारे जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ। संक्रमित जनावर (जस्तै सुँगुर वा जलपक्षी) लाई टोक्ने लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्ने गर्छ ।
डा. तिमल्सिनाका अनुसार रोगको छुट्टै उपचार छैन, तर लक्षणअनुसार उपचार गर्न सकिन्छ । उच्च ज्वरो, घाँटी कडिनु, मुच्र्छा, बोल्न नसक्ने, भ्रमित हुने, मांसपेशी कमजोर हुने वा पक्षाघात हुने अवस्था देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्ने उहाँको भनाइ थियो ।
विशेष गरी सुँगुरपालन, बागबानी, क्याम्पिङ वा माछा मार्ने काममा संलग्न मानिस बढी जोखिममा हुने भएकाले सतर्कता बढाउन उहाँले आग्रह गर्नुभयो । सुरक्षाका लागि लामखुट्टे भगाउने पदार्थ प्रयोग गर्ने, शरीर ढाक्ने लुगा लगाउने, बिहान–साँझ बाहिर ननिस्कने, घरमा झुल वा जाली प्रयोग गर्ने उहाँले सुझाउनुभयो ।
जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार हालसम्म जिल्लामा तीन जनामा जापानीज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ, जसमा दुई जनाको मृत्यु भइसकेको छ । गत साउन २७ गते कमलामाई नगरपालिका–५ का ८९ वर्षीय दिपबहादुर कार्कीको मृत्यु भएपछि प्रभावित क्षेत्रमा निगरानी बढाइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले स्थानीय तहलाई सक्रिय बनाउन थालेको छ भने सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।