काठमाडौं,३ भदौ — प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारको कार्यशैलीलाई लिएर गम्भीर आरोप लगाएको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवाद र तानाशाहीकरण तर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ ।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सरकारका कामकारबाहीबाट जनतामा ठूलो आक्रोश र असन्तुष्टि बढेको बताउनुभयो । उहाँका अनुसार, माओवादी केन्द्रको शीर्ष नेतृत्वले सरकारका पछिल्ला गतिविधिहरूको सूक्ष्म अध्ययन गरी यस्तो निष्कर्षमा पुगेको हो ।
प्रवक्ता सापकोटाले सरकार जनताको हितविपरीत गलत बाटोमा हिँडिरहेको आरोप लगाउनुभयो । विशेषगरी, भूमि विधेयक मा सरकारले आफ्ना मान्छेलाई जग्गा बाँड्नका लागि अनेकौं जालसाजी गरिरहेको उहाँले जिकिर गर्नुभयो । सरकारको यो कदमले लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाएको माओवादीको ठहर छ ।
माओवादी केन्द्रले सरकारको अलोकतान्त्रिक र अधिनायकवादी चरित्रले समग्र लोकतान्त्रिक व्यवस्थालाई नै जोखिममा पारेको निष्कर्ष निकालेको छ । सरकारले संवैधानिक निकायहरूको अधिकार कटौती गर्ने र आफ्ना अनुकुल निर्णय गराउने प्रयास गरिरहेको पनि माओवादीको आरोप छ ।
बुधबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको बैठकमा सरकारको विरोधमा थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने सम्भावना रहेको प्रवक्ता सापकोटाले बताउनुभयो । माओवादी केन्द्रले सरकारको अधिनायकवादी कार्यशैली विरुद्ध सडक र सदन दुवैमा सशक्त प्रतिवाद गर्ने रणनीति बनाइरहेको बुझिएको छ ।