शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

रवि लामिछानेलाई भिटामिन डीको कमी देखियो

मंगलवार , भाद्र ३, २०८२

काठमाडौँ ,३ भदौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य परीक्षण रिपोर्ट सार्वजनिक भएको छ । ट्रमा सेन्टरका चिकित्सक डा. जितेन्द्र प्रसाद यादवले गरेको रगत जाँचमा उहाँको शरीरमा भिटामिन डीको कमी देखिएको हो । रास्वपाका प्रवक्ता मनिष झाले यो जानकारी सार्वजनिक गर्नुभएको छ ।

प्रवक्ता झाका अनुसार, रगत जाँचको रिपोर्टबारे विस्तृत जानकारी दिन डा. यादव आफैँ नख्खु कारागार पुग्नुभएको थियो । कारागारमा रहनुभएका लामिछानेसँग भेटेर उहाँले रिपोर्टको अवस्थाबारे जानकारी गराएको प्रवक्ताले बताउनुभयो ।

“सभापतिज्यू को रगत परीक्षणको रिपोर्टबारे डा जितेन्द्र प्रसाद यादवले दिनुभएको जानकारीअनुसार, उहाँको शरीरमा भिटामिन डि को कमी देखिएको छ । रुपन्देही कारागारमा १२६ दिनसम्म भित्र नै थुनेर राखेको, बाहिरी हावा नपाएको र धेरै दिनसम्म शरीरले घाम नपाएको कारण यस्तो भएको भन्ने राय उहाँले बताउनुभएको छ।” झाले जानकारी दिनुभयो ।’

भिटामिन डीको कमीले हड्डी र मांसपेशीको स्वास्थ्यमा असर पुर्याउनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर बनाउन सक्छ । विशेषगरी, सूर्यको प्रकाशबाट शरीरले प्राप्त गर्ने यो भिटामिनको कमी विभिन्न कारणले हुन सक्छ, जस्तै पर्याप्त घाममा नबस्नु वा पोषणयुक्त खानाको कमी । लामिछाने कारागारमा रहेकाले घामको कमीले पनि यस्तो अवस्था आएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि, विभिन्न सार्वजनिक कार्यक्रममा लामिछानेको स्वास्थ्यलाई लिएर अनेक अड्कलबाजी हुने गरेका थिए । अहिले आधिकारिक रूपमा स्वास्थ्य रिपोर्ट सार्वजनिक भएपछि उहाँको स्वास्थ्य अवस्थाबारे धेरै कुरा स्पष्ट भएको छ । यो अवस्थामा चिकित्सकको सल्लाहअनुसार उहाँले भिटामिन डीका लागि पूरक औषधि वा आहार लिनु आवश्यक हुनेछ ।

लामिछानेको स्वास्थ्यमा देखिएको यो समस्या सामान्य भए पनि कारागारको वातावरण र उनको मानसिक तनावका कारण यसले थप असर गर्न सक्ने चिन्ता पनि व्यक्त भएको छ ।

प्रतिक्रिया