शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

गोलन्जोरमा १५ शैयाको अत्याधुनिक आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारी

बुधवार , श्रावण २८, २०८२

सिन्धुली,,२८ साउन– सिन्धुली जिल्लाका ग्रामीण बासिन्दाका लागि स्वास्थ्य सेवामा नयाँ अध्याय सुरू हुने भएको छ । गोलन्जोर गाउँपालिकाले वडा नं. ३, ग्वाल्टारमा निर्माण सम्पन्न भएको १५ शैयाको अत्याधुनिक आधारभूत अस्पताल भदौ महिनाको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

यो अस्पतालको स्थापनाले स्थानीय बासिन्दालाई तत्काल उपचार, नियमित स्वास्थ्य परीक्षणदेखि आपतकालीन सेवा सम्मका सुविधा आफ्नै गाउँमा प्राप्त हुने भएको छ । गाउँस्तरमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराउने लक्ष्यका साथ अस्पताल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

नेपाल सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ नीति अन्तर्गत हाल देशभरका गाउँपालिका र नगरपालिका तहमा स्वास्थ्य पूर्वाधार विस्तार भइरहेको छ । यसै क्रममा गोलन्जोर गाउँपालिकाले पनि ग्रामीण भेगका नागरिकलाई सहज, सस्तो र गुणस्तरीय उपचार सुविधा दिन अस्पताल सञ्चालनको तयारी गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले भन्नुभयो, “यो अस्पताल सञ्चालनमा आएपछि हाम्रो गाउँपालिका मात्र नभई आसपासका जिल्लाका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने हजारौं जनताले लाभ लिनेछन् । अब उपचारका लागि,सिन्धुली सदरमुकाम, हेटौंडा, धरान वा काठमाडौं धाउनुपर्ने अवस्था कम हुनेछ ।”

ग्वाल्टारस्थित १५ शैयाको अस्पताल ब्याक टू लाइफ ईभी जर्मनीको आर्थिक सहयोगमा निर्माण गरिएको हो । निर्माण कार्यमा समुदाय पद्धति विकास सेवा (सीएसडीएस) सिन्धुलीले प्राविधिक सहयोग पु¥याएको थियो भने एआर्डी कन्स्ट्रक्सन ले ठेक्का लिएको थियो ।

२६ अप्रिल २०२४ मा भएको सम्झौताअनुसार १८ महिनाभित्र अस्पताल निर्माण सम्पन्न गर्ने योजना बनाइएको थियो । कुल लागत ६ करोड ७६ लाख २१ हजार १३५ रुपैयाँ रहेको यस अस्पतालको भवन निर्माण अब सम्पन्न भइसकेको छ । दातृ संस्थाले थप १ करोड रुपैयाँ बराबरको अत्याधुनिक चिकित्सा उपकरण पनि उपलब्ध गराएको छ । जसमा एक्स–रे मेसिन, प्रयोगशाला उपकरण, अल्ट्रासाउन्ड, बिरामीका लागि आवश्यक जीवनरक्षक सामग्री लगायतका सुविधा समावेश छन् ।

अस्पताल सञ्चालनलाई प्रभावकारी बनाउन साउन २२ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र गोलन्जोर गाउँपालिकाबीच पाँच वर्षे सहकार्य सम्झौता भएको छ । सम्झौतामा प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली र गाउँपालिका अध्यक्ष शंकरराज बरालले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार, प्रतिष्ठानका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूले यस अस्पतालमा प्रत्यक्ष चिकित्सकीय अभ्यास गर्न पाउनेछन् । यसले विद्यार्थीलाई व्यवहारिक शिक्षा प्राप्त गर्ने अवसर दिलाउने मात्र नभई गाउँकै बासिन्दाले विशेषज्ञ चिकित्सकको सेवा लिन सक्ने वातावरण सिर्जना हुनेछ ।

प्रतिष्ठानले आवश्यक परेमा प्राविधिक कर्मचारी पठाउने, तालिम दिने, डिजिटल स्वास्थ्य सेवा प्रवद्र्धन गर्ने र अनुसन्धानका आधारमा स्वास्थ्य नीति निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आवश्यकता अनुसार सहकार्य अवधि नवीकरण गर्न सकिने पनि व्यवस्था छ ।

गोलन्जोर गाउँपालिकाले अस्पताल सञ्चालनका लागि हाल कार्यालय सहयोगी बाहेक ३२ जना विभिन्न तहका कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ । प्रारम्भिक चरणमा एक जना एमबीबीएस चिकित्सक, स्टाफ नर्स, प्रयोगशाला प्राविधिक, फार्मेसी सहायक र अन्य आवश्यक स्वास्थ्यकर्मीहरू रहनेछन् ।

अध्यक्ष बरालले भन्नुभयो, “स्रोत र साधन जुट्दै गएपछि जनशक्ति विस्तार गर्दै अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरिनेछ । दीर्घकालीन योजनाअनुसार यहाँ ९ जना विशेषज्ञ चिकित्सक स्थायी रूपमा रहनेछन् ।”

यो अस्पतालले गोलन्जोर मात्र नभई फिक्कल, सुनकोशी, रामेछाप, ओखलढुंगा र खोटाङका सीमावर्ती बासिन्दालाई पनि स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

अस्पताल सञ्चालन हुने खबरसँगै स्थानीय बासिन्दामा उत्साह देखिएको छ । गोलन्जोर–५ का ६५ वर्षीय शंकर तामाङले भन्नुभयो, “अहिलेसम्म सामान्य रोग लाग्दा पनि सिन्धुली सदरमुकाम,हेटौंडा वा काठमाडौं जानु पथ्र्यो, जसले धेरै खर्च र समय बर्बाद हुन्थ्यो । अब गाउँमै उपचार पाइने भएपछि बुढाबुढी, बालबालिका सबैलाई ठूलो राहत हुनेछ ।”

गोलन्जोर आधारभूत अस्पताललाई भविष्यमा २५ शैयामा विस्तार गर्ने योजना समेत गाउँपालिकाले बनाएको छ । साथै, यहाँ विशेषज्ञ सेवा, मातृशिशु स्वास्थ्य, दुर्घटना आपतकालीन उपचार र टेलिमेडिसिन सेवा थप गर्ने तयारी छ ।

गाउँपालिकाले आशा व्यक्त गरेको छ कि अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा ऐतिहासिक सुधार हुनेछ, जसले जिल्लाको समग्र मानव विकास सूचकांममा सकारात्मक प्रभाव पार्नेछ ।

गोलन्जोरमा स्थापना हुन लागेको यो १५ शैयाको अत्याधुनिक आधारभूत अस्पतालले ग्रामीण भेगमा स्वास्थ्य सेवा पु¥याउने नयाँ मापदण्ड तय गर्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय सहयोग, स्थानीय नेतृत्वको प्रतिबद्धता, र शैक्षिक सहकार्यको संयोजनले यसलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सक्ने देखिन्छ ।

प्रतिक्रिया