शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

जनार्दन शर्माले गरेनन् आत्मालोचना

सोमवार , श्रावण १९, २०८२

काठमाडौँ,१९ साउन – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले माओवादी स्थायी कमिटी बैठकमा आत्मालोचना नगरेको खुलेको छ ।

माओवादीकेन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले शर्माले माइनुटमा हस्ताक्षर गर्छु भनेको तर आत्मालोचना नगरेको बताउनुभयो । शर्माले साउन ६ गते दिएको अभिव्यक्ति बारे आत्मालोचना नगरेको बताउदै यस विषयमा फेरी उच्च तहमा छलफल हुने सहमति भएको सापकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रभाकरको विषयमा छलफल धेरै स्पष्ट र बिस्तृत रुपमा चल्यो, असाध्यै कमरेडली भावनामा छलफल भयो । जस्तो उहाँले माइन्युटमा साइन गर्नु भएको थिएन नी, अब माइन्यूटमा सहि गर्छु भन्नु भएको छ । बैठकमा स्थायी कमिटीले भनेका कुरामा, अध्यक्षले भनेका कुरामा महसुस गर्नु भएको छ । उहाँले साउन ६ गते दिएको अभिव्यक्तिको विषयमा आत्मालोचना त गर्नु भएको छैन तर के कुरामा समझदारी भएको छ भने त्यस विषयमा उच्च भावनाका साथ कमिटीहरुमा छलफल गर्दै सहमतिमा जाने छलफल भएको छ । बजारमा चर्चा चलेको थियो नि पार्टी फुट्छ भन्ने चर्चा चलाइएको थियो नि त्यसलाई खारेज गर्दै पार्टीलाई एकताबद्ध बनाउदै जान स्थायी कमिटी बैठक एक भएको छ ।”

सापकोटाले पूर्ण एकताबद्ध भएर अगाडी बढ्छ र विगतमा भएका दुष्प्रचारलाई स्थायी कमिटीको एकताबद्ध संकल्पले खारेज गरेको बताउनुभयो ।

यसअघि बैठकमा अध्यक्ष प्रचण्डले पार्टी उपमहासचिव शर्मालाई पार्टी नेतृत्वप्रति सार्वजनिक रुपमा प्रश्न उठाएकोमा आत्मालोचना गर्न सुझाव दिनुभएको थियो । बैठकमा धारणा राख्दै अध्यक्ष प्रचण्डले आत्मालोचना गरेर स्थायी कमिटी सदस्यहरूको मान राख्न आग्रह गर्नुभएको थियो ।

“आत्मालोचना करकापको विषय होइन, तपाईंलाई रियलाइजेशन छ भने आत्मसमीक्षा गर्नुस्,” अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, “सिंगो स्थायी कमिटीको स्प्रिट पनि त्यही हो ।”

जवाफमा उपमहासचिव शर्माले आफूले जायज प्रश्नहरू नै उठाएको र ती यथावत् रहेको बताउनुभएको थियो । “मेरा कुराहरू यथावत् छन्, मैले आफ्नो हिस्साको कमजोरीको मात्रै जिम्मा लिन्छु,” बैठकमा शर्माले भन्नुभयो, “कमीकमजोरीहरू सबैका भएका छन् ।”

उहाँले पार्टीमा अब प्रतिस्पर्धाको वातावरण तयार हुनुपर्ने बताउनुभयो । “पार्टी फुटाएर जान्छ भनेर अध्यक्षले नै भन्न थाल्नुभो, त्यस्तो होइन पार्टी फुटाएर जाँदिन,” उहाँले भन्नुभयो, “आत्मालोचना गर्दिनँ, कमी कमजोरी सच्याउने कुरा सबैमा लागू हुन्छ, मेरो मात्रै कुरा होइन ।”

अहिलेसम्म बैठकका माइन्युटहरूमा हस्ताक्षर नगरेकोमा भने उहाँले गल्ती महसुस गरेको बताउनुभयो । आफूले राख्दै आएका केही सवालहरूमा बैठकमा छलफल होस् भन्ने चाहेको र छलफलै नभएपछि हस्ताक्षर नगरेको उहाँको भनाइ थियो । “माइन्युटमा हस्ताक्षर नभएको विषयमा हस्ताक्षर नगरेकोमा म आत्मालोचित छु,” शर्माले भन्नुभयो, “मैले छलफल होस् भन्ने चाहेको थियो । छलफल भयो । अब माइन्युटमा हस्ताक्षर गर्छु ।”

 

प्रतिक्रिया