शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आइतवार , श्रावण १८, २०८२

 

काठमाडौँ,१८ साउन – आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुभएको छ । पार्टीको आन्तरिक विवादपछि संसदीय दलको नेताको हसियत गुमाउनुभएका लामाले एकवर्ष ९ दिन बागमती प्रदेश सरकारको नेतृत्व गरेर आइतबार राजीनामा दिनुभएको हो । लामाले २०८१ को साउन ९ गते मुख्यमन्त्रीको शपथ लिनुभएको थियो ।

२– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ति गर्नेले आत्मालोचना गर्नुपर्ने बताउनुभएको छ । स्थायी कमिटीको बैठक सकेर बाहिरिने क्रममा प्रचण्डले छोटो प्रतिक्रिया दिदै पार्टीमा जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्नुपर्ने बताउनुभएको हो । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उहाँले भन्नुभयो, “अहिले छलफल चलिरहेको छ । जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्ने कुरा हो ।” शुक्रबारदेखि शुरु भएको बैठक भोलि सकिने बताइएको छ ।

३– नेकपाका महासचिव विप्लवले समाजवादी क्रान्तिका लागि ब्यापक ध्रुबीकरण आवश्यक भएको बताउनुभयो । आइतबार राजधानीको संवाद डबलीमा आयोजित दुई पुस्तक सार्वजनिकीकरण कार्यक्रममा विप्लवले नेपाली समाज राजनीतिक वहसबाट विमुख भइरहेको सन्दर्भमा यी दुई पुस्तकले सिद्धान्तनिष्ठ बहसको उठान गरेकोसमेत ठोकुवा गर्नुभयो । विप्लवले कृष्णहरि भट्टको ‘कम्युनिस्ट जनवाद’ र खेम थपलियाको ‘कम्युनिस्ट समाजवाद’ पुस्तकहरु गहन अध्ययनका साथ आएको बताउँदै उक्त पुस्तक खास गरी युवालगायत यो आन्दोलनमा रहेकाहरुले अनिवार्य पढ्नुपर्ने बताउनुभयो । विप्लवले वर्तमान सत्ताको बारेमा टिप्पणी गर्दै वर्तमान सत्ता र यसका सञ्चालकहरु फासिजमतिर उन्मुख भएको आरोप लगाउनुभयो ।

४– राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेशका प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई तोक्नुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुन मलेसिया जानुहुने भएकाले उहाँको अनुपस्थितिमा कोशी प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम मधेश प्रदेशका प्रमुख भण्डारीलाई तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

५– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको छ । आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो । उहाँले निर्मला प्रकरणको अनुसन्धानमा कुनैकसर बाँकी नराख्न सिआइबीलाई निर्देशन दिनुभएको छ ।

६– मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । गाडीमा सवार ७ जनाको सकुशल उद्धार गरिएको र केहि घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

७– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसदमा अवरोध गरिरहेको बताउनुभएको छ । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिनुभयो ।

८– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आइतबार बोल्दै प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाउदै वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकताका कारण पार्टीलाई ठुलो नोक्सान भएको बताउनुभयो् । शर्माले प्रचण्डकै कारणले २०६४ सालमा प्राप्त गरेको जनमत गुमेको भन्दै त्यो कसरी फिर्ता गर्ने भन्दै प्रश्न समेत गर्नुभएको थियो । बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार उपमहासचिव शर्माले आफू आत्मालोचना गर्न तयार रहेको तर पार्टीको अहिलेको अवस्थाका लागि जिम्मेवारी लिन प्रचण्ड पनि तयार हुनुपर्ने बताउनुभएको थियो ।

९– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ आन्दोलन र विद्रोहले जन्म लिने बताउनुभएको छ । आइतबार पेरिसडाँडामा सम्पन्न दोलखाको बोत्लेमा तत्कालीन सुरक्षाकर्मीद्वारा कायरतापूर्वक हत्या गरिएका १५ जना माओवादी योद्धाहरूको स्मृतिमा आयोजित सभामा बोल्दै प्रचण्डले आफुहरु अहिले नयाँ आन्दोलन र विद्रोह तिर अगाडी बढिरहेको बताउनुभएको हो । प्रचण्डले अहिले पार्टीलाई विभाजित गर्ने षड्यन्त्र र लगानी गरिरहेको बताउदै सबै माओवादी धाराहरुलाई एकात गरेर त्यस्लाई चिर्नुपर्ने बताउनुभयो । अहिले माओवादी धारलाई एक हुन नदिन ब्याटल जारी रहेको भन्दै यो कसले जित्छ भन्ने अहिले भन्न नसकिने बताउनुभयो ।

१०– प्रधानमन्त्री केपी शर्मा ओली आज राति भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जादै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमण सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुने बताएको छ । प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सम्मेलनमा आमन्त्रित गरेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली भ्रमण पुरा गरेर अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।

११– नेप्से परिसूचकमा गिरावट जारी रहेको छ । नेप्से आइतबार ६३.७३ अंकले घटेर आज २८५८.९० विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० मा किनबेच भएको नेप्सेले जनाएको छ ।

१२– अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु गरेको छ । यसैक्रममा अर्थ मन्त्रालयले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ । छलफलमा दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशिलता कार्यक्रम विकास कार्यक्रम अन्तर्गत आधुनिक प्रविधिको हस्तान्तरण र तालिमसँगै उत्पादित वस्तुलाई बजारसँग जोडेर अघि बढ्ने कुरा भएको छ । त्यसैगरी काठमाडौं उपत्यकामा सञ्चालित उद्योगहरुलाई उपत्यका बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गरी राजधानीको प्रदूषण नियन्त्रण गर्ने र स्थानान्तरण हुने उद्योगलाई विशेष सहुलियत दिनेबारे छलफल भएको छ ।

१३– श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (एसएलसीएसएमआई) बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ । श्रीलङकाका लागि नेपाली राजदूत डा. पूर्ण बहादुर नेपालीको उपस्थितीमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेस कुमार अग्रवाल र एस एल सी एस एम आईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गर्नुभएको छ ।

१४– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ’रियाल रिंगेट’ को प्रदर्शन स्थगित गरिएको छ । फिल्मको निर्माण कम्पनि रेवल फिल्मसले फिल्मको सोमबारदेखि प्रदर्शन स्थगित गरिएको जानकारी दिएको हो । रेवल फिल्मसले सिनेमा हलले उचियो समयमा शो नदिएको आरोप लगाएको छ । विभोर पोखरेलको निर्देशन तथा गगनलाल प्रधानको निर्माण रहेको फिल्ममा नीता ढुंगाना, प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सुवास थापा मगर, विशाल थापा लगायतको अभिनय छ ।

१५– वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको दोस्रो टी–२० खेलमा जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा पाकिस्तानले दिएको १३४ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै अन्तिम बलमा जित हासिल गरेको हो । वेस्ट इन्डिजले यस अघि अस्ट्रेलिया विरुद्धको ५ खेलको सिरिजका सबै खेल हारेको थियो भने यस सिरिजको पहिलो खेल पनि हारेको थियो । टी–२० क्रिकेटमा लगातारको ६ हारपछि वेस्ट इन्डिजले जित हासिल गरेको छ । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १३३ रन बनाएको थियो । वेस्ट इन्डिजको यो जितपछि तीन खेलको सिरिज १–१ भएको छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।

१६– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा जित हासिल गरेर बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई बधाई दिनुभएको छ । नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।” रवीन्द्रले डिफेन्डिङ च्याम्पियन भारतका चुनरेङ कोरेनलाई पराजित गर्नुभएको हो । उहाँले तेस्रो राउण्डको ५४ सेकेन्डमा कोरेनलाई नकआउट गर्नुभएको थियो । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै रवीन्द्रले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट हात पार्नुभयो ।

१७– दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउदै वल्र्ड च्याम्पियन्स अफ लिजेण्डसको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । पाकिस्तानले दिएको १९६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १६.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रिकाका लागि एबी डिभिलीयर्सले ६० बलमा अविजित १२० रन बनाएका थिए । त्यस्तै जीन पाउल डुमीनीले अविजित ५० रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । यस प्रतियोगितामा सेमिफाइनलमा भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान फाइनल खेलेको थियो ।

१८– भारतको उत्तर प्रदेशको गोन्डामा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने चार जनालाई उद्धार गरिएको छ। तीव्र गतिमा रहेको बोलेरो नियन्त्रण गुमाएपछि सरयु नहरमा खसको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बोलेरोमा १५ जना थिए । स्थानीयले सिसा फुटाएर ४ जनाको उद्धार गरे ।

१९– हमासले सार्वभौम प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नछोड्ने स्पष्ट गरेको छ । गाजामा युद्धविरामको लागि वार्तामा इजरायलको मुख्य मागहरू मध्ये एकको जवाफमा हमासले यस्तो भनेको हो । सशस्त्र प्यालेस्टिनी समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्य पूर्वका लागि दूत स्टीव विटकफको टिप्पणीको जवाफ दिँदै हतियार नबिसाउने बताएको छ । इजरायलले हमासको हतियार राख्ने सर्तलाई द्वन्द्व अन्त्य गर्न र कुनै पनि सम्झौताको लागि मुख्य सर्तहरू मध्ये एक मान्दछ । युद्धविराम र बन्धकहरूको रिहाइको लागि इजरायल र हमास बीचको अप्रत्यक्ष वार्ता गत हप्ता रोकिएको छ । केही दिन अघि, अरब देशहरूले हमासलाई हतियार छोड्न र गाजाको नियन्त्रण त्याग्न अनुरोध गरेका थिए ।

२०–चीनले रोबोटिक्स र एआईको दुनियाँमा द्रुत गतिमा प्रगति गरिरहेको छ । हालै चीनको एक मानवनिर्मित रोबोटले कारको ढोका खोल्ने जस्तो उपलब्धि हासिल गरेको छ । त्यसैगरी एक एआई रोबोटलाई चार वर्षे डक्टरेट (पीएचडी) कार्यक्रमको लागि छनोट गरिएको छ । यो पहिलो पटक हो, जब कुनै रोबोटले पीएचडी गर्दैछ । कतिपयले भविष्यमा रोबोटले विद्यार्थीहरूलाई प्रतिस्थापन गर्ने पनि विश्वास गर्छन् । पीएचडी कार्यक्रमको लागि छनोट गरिएको चिनियाँ एआई रोबोटको नाम ’जुएबा ०१’ राखिएको छ । विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलनको क्रममा जुएबालाई डक्टरेट गर्न छनोट गरिएको थियो । यसले अर्को चार वर्षसम्म सांघाई थिएटर एकेडेमीमा पीएचडी गर्ने चिनियाँ मिडिया चाइना साउथ मोर्निंग पोष्टले उल्लेख गरेको छ । रोबोट तयार पार्न सांघाई विज्ञान तथा प्रविधि विश्वविद्यालय र ड्रोइडअप रोबोटिक्सको भूमिका छ । जुएबाले चिनियाँ ओपेरामा अनुसन्धान गर्ने बताइएको छ । यो रोबोटले भर्चुअल विद्यार्थी आईडी पनि पाएको छ । पीएचडीमा जुएबाको सल्लाहकार प्रसिद्ध कलाकार र प्रोफेसर याङ क्विङकिङ हुनेछन् ।एभरेष्ट न्यूज एजेन्सी,

प्रतिक्रिया