धेरै मानिसहरूसँग संगत नगर्ने र लजालु स्वभावको मानिएको लोपोन्मुख आदिवासी हायू समुदायको परिवार सिन्धुलीको गोलन्जोर छोडेर पोखरा पुगेसँगै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनीहरूको मनासयबारे विभिन्न अड्कलबाजी भइरहेको छ ।
सिन्धुलीमा आफ्नो थातथलो छोडेर हिँडेको हायू परिवारले भने छोराछोरी पढाउन र कामको खोजीमा आफूहरूले गाउँ छोडेको प्रतिक्रिया दिएको छ ।
छरछिमेकीलाई समेत खबर नगरी शनिवार गाउँबाट हिँडेका उनीहरू सम्पर्कविहीन भएपछि सोमवार दिनभरि १६ जनाको यो परिवारका सदस्यहरूको खोजी गरिएको थियो ।
राति पोखरामा भेटिएको यो परिवार मंगलवारलवार फेवातालको तालवाराही मन्दिर परिसरमा देखा पर्यो । “खासगरी सीमान्तकृत आदिवासीहरूका लागि आफ्नो थातथलो दुई कारणले महत्वपूर्ण हुन्छ,“ त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका सहप्राध्यापक सुरेश ढकालले भन्नुभयो ।
“एउटा आफू बसेको भूमिसँगको सम्बन्ध र अर्को त्यससँगै जोडिएर आउने जङ्गल, खोलानाला र स्थानीय स्थानमा पूजा गर्ने देउतासँग उनीहरूको सम्बन्ध हुन्छ ।” किराँत सम्प्रदायअन्तर्गतको मानिने हायू समुदायले उक्छिमी रानीको पूजा गर्ने प्रचलन छ ।
हायू समाजका अध्यक्ष लक्ष्मण हायूले यो समुदायका मानिसहरूमा जग्गाको स्वामित्व राख्ने परम्परा नभए पनि अहिले घरजग्गा जोड्ने चलन बढ्दै गएको बताउनुभयो । सिन्धुलीबाट हिँडेको परिवार उहाँकै मावली हुन् ।
“मामाहरू रामेछापबाट गोलन्जोर बसाइँ सरेर आउनुभएको हो । त्यहाँ पनि अर्कैको घरबारी कमाएर बस्नुभएको थियो । पछि जमिन किन्नुभएको भए थाहा भएन नत्र त्यहाँ उहाँहरूको केही थिएन,“ उहाँले भन्नुभयो ।
लक्ष्मण हायूका अनुसार उहाँका मामाले बाँस र काठका सामग्री बनाएर गुजारा चलाउँदै आउनुभएको थियो । तर केही वर्षअघि बेपत्ता हुनु भएका अभिभावक लामो समयपछि जंगलमा मृत अवस्थामा भेटिएपछि परिवार बेचैन थियो ।
“मामासँग भएको परम्परागत सीप भाइबहिनीहरूले सिकेनन् । एक जना वैदेशिक रोजगारीमा गए, अरू भाइहरू यतै ज्यालामजदुरी गर्न थाले,“ लक्ष्मणले भन्नुभयो ।
“अर्को कुरा अहिले समाज मिश्रित छ । बाहिरी दुनियाँ पनि उहाँहरूले देख्नुभयो होला, त्यसप्रति आकर्षण पनि भयो होला । गाउँमा बच्चाहरूलाई पढाउने सुविधा छैन, काम गर्न पनि धेरै अवसर छैन । त्यसकै लागि गाउँ छोड्नुभएको पनि हुन सक्छ ।”
परिवारका माइला छोरा राजु हायूले गाउँमा काम नपाएको र विद्यालय टाढा भएकाले बालबच्चा पढाउन पनि समस्या भएका कारण पोखरा जाने निर्णयमा आफूहरू पुगेको संक्षिप्त प्रतिक्रिया दिनुभएको छ ।
त्यसअघि उनीहरूले उक्त ठाउँमा बालबच्चाहरू बिरामी पर्ने गरेका कारण गाउँ नफर्कने प्रहरीसँग बताएको विवरण विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।
मानवशास्त्रका सहप्राध्यापक ढकालले शिक्षा रोजगारीसँगै देउता रिसाउने कुरालाई पनि कतिपय आदिवासीहरूको बसाइँसराइसँग जोडिने बताउनुहुन्छ । “शिक्षा, रोजगारीसँगै भूमिको स्वामित्व नहुनु र विश्वास तथा परम्पराका कारण पनि उहाँहरूले देउता रिसाएको ठाउँमा नबस्ने भनेर त्यो ठाउँ छोडेको हुन सक्छ,“ ढकालले भन्नुभयो ।
गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठले गाउँ छाडेर हिँडेको हायू परिवारसँग वर्षभरि खान पुग्ने खेती पनि नभएको बताउनुभयो । “वर्षभरि खान पुग्ने खेती चाहिँ उहाँहरूको थिएन, पशुपालन ज्याला मजदुरी गरेर घर चलाउँदै आएको विपन्न परिवार नै हो । तर गाउँ नै छोडेर हिँड्नुपर्ने अवस्था पनि थिएन जस्तो लाग्छ,“ उहाँले भन्नुभयो ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर हायूजस्तै एकान्त क्षेत्रका कतिपय आदिवासी जनजातिहरूमा आधुनिकताको आकर्षण बढ्न थालेको छ । “अहिले कतिपय आदिवासीहरूमा परम्परागत जीवनशैली र आधुनिकताको प्रभावको द्वन्द्व छ । राउटे, चेपाङ, हायूजस्ता घुमन्ते आदिवासीहरूमा नयाँ पुस्ताका मानिसहरू पढ्न र बाहिरी संसारसँग जोडिन चाहन्छन्,“ थापामगर भन्नुभयो ।
“अर्को कुरा विकास पूर्वाधारका कारण उनीहरूको परम्परागत बसोबास क्षेत्र बिथोलिएको छ । वन संरक्षित हुँदै गएको छ र उनीहरूका उत्पादनको बजारीकरण पनि छैन ।” उहाँले आदिवासीहरूले थातथलो नै छोडेर आफ्नो समुदायको उपस्थिति नै नभएको ठाउँ रोज्नु सोचनीय विषय भएको बताउनुभयो ।
“सरकारले पनि सामाजिक सुरक्षा भत्ता दिएर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नुहुँदैन । सँगसँगै उनीहरूको उत्थान र जीवनयापनमा सहजीकरणबारे पनि योजना बनाउनुपर्छ,“ थापामगरले भन्नुभयो ।
भाषा आयोगको एक प्रतिवेदनअनुसार हायू समुदायले लिखु नदीको शिरदेखि सुनकोसीसम्म र हालको रामेछाप जिल्लाको ओखनी, सुकाजोर र रामेछाप आदिलाई आफ्नो पुख्र्यौली थातथलो भएको दाबी गर्छ ।
आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेलले बाहिरी सम्पर्कसँगै वनजंगल क्षेत्रमा बसोबास गर्दै आएका कतिपय लोपोन्मुख आदिवासीहरू सहरी क्षेत्रतर्फ बसाइँ सर्न थालेको बताउनुभयो ।
“मैरै अवलोकनका क्रममा पनि घुमन्ते आदिवासीहरू नजिकको बजार र जिल्ला सदरमुकामनजिक बस्न थालेको पाएको छु। बाहिरी संस्कृति र शिक्षामा उनीहरूको आकर्षणले पनि यस्तो भइरहेको छ,“ उहाँले भन्नुभयो ।
हायू समाजका अध्यक्ष लक्ष्मण हायूले वनपैदावारको प्रयोगमा बढ्दो रोकावट, पछिल्लो पुस्तामा परम्परागत सीपप्रतिको विकर्षण र बजारीकरणको अभावले पनि हायू जातिका कतिपय परिवारमा निर्वाहको समस्या देखिएको बताउनुभयो ।
पछिल्लो जनगणनामा झन्डै ३,००० को संख्यामा रहेको हायू जाति सिन्धुली, सर्लाही, महोत्तरी, उदयपुर, काभ्रे, सिराहा आदि जिल्लाहरूमा फैलिएर बसेको छ । तर हायू समाजका अध्यक्ष लक्ष्मण हायूले सिन्धुली र रामेछापमा बस्ने करिब १,५०० हायूले मात्रै आफ्नो भाषा बोल्ने गरेको बताउँछन् ।
उनीहरूले नै चाहिँ आफूलाई ’वायू’ भन्ने गरेको भाषा आयोगले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ । ’हायू’ शब्द गैरहायूहरूले उनीहरूलाई सम्बोधन गर्न प्रयोग गर्ने भए पनि अहिले यही शब्द उनीहरूको जातीय पहिचान बनेको प्रतिवेदनमा उल्लेख छ । बिबिसि नेपाली सेवाबाट ।