सिन्धुली – सिन्धुली सदरमुकाम सिन्धुलीमा भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कमलामाई नगरपालिकाले जितेको छ ।
२३ स्वर्ण, ५ रजत र ७ कास्य पाएर कमलामाई नगरपालिका प्रथम हुन सफल भएको छ । यसैगरी ८ स्वर्ण २० रजत र १३ कास्य पाएर दुधौली नगरपालिका द्धित्तिय हुन भएको छ भने ८ स्वर्ण, ७ रजत र २ कास्य पाएर तृतिय फिक्कल गाउँपालिका हुन भएको छ । साथै ६ स्वर्ण, ८ रजत, १३ कास्य पाएर सुुनकोशी गाउँपालिकाले चौथौ स्थान हासिल गरेको छ ।
‘राष्ट्रका लागि खेलकुद तथा स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१ अन्तर्गत १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
फागुन ५ गते बाट सञ्चालन भएको प्रतियोगितामा कबड्डी, भलिबल, कराँते, एथलेटिक्स, तेकवान्दो लगायतका बिधाहरुमा नगर तथा गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । बुधबार प्रतियोगिता सम्पन्न भए संगै बागमती प्रदेश उद्योग वाणिज्य तथा प्रशासन मन्त्री सुकुमाया तामाङ को प्रमुख आतिथ्यतामा विजेतालाई शिल्ड, मेडल, ट्रफि, तथा प्रमाणपत्र द्धारा पुरस्कृत गरिएको छ ।
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतियोगितामा उत्कृष्ट भएका कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिकालाई क्रमशः १० हजार १ सय २५ रुपैयाँ, ७ हजार १ सय २५ रुपैया, ५ हजार ६ सय २५ रुपैया नगद सहित पुरस्कृत गरिएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव २०८१ अन्तर्गत १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भए सगै बिहिबार देखि प्रथम खेलकुद महोत्सव २०८१ सुरु हुने आयोजक टिमले जनाएको छ ।