सिन्धुली – सिन्धुलीमा सोमवार बाट सिन्धुलीमा १३ औँ राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता तथा प्रथम खेलकुद महोत्सव शुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सिन्धुली जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा प्रतियोगिता सुरु भएको हो ।
फागुन १३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उदघाटन बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गर्नुभएको छ । प्रतियोगिताको उदघाटन गर्दै उहाँले जिल्लाको खेलको विकासका लागि काम गर्ने बताउनुभयो । उहाँले बागमती प्रदेशलाई खेलकुदको हबका रुपमा विकास गर्ने बताउनु भयो ।
उहाँले प्रदेशभित्र खेलकुदका लागि आवश्यक संरचनाको विकास, खेलाडीहरुको पहिचान र प्रशिक्षणलाई प्राथमिकतामा राखेर आफ्नो मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो । ४० वर्षदेखि खेलकुद क्षेत्रमा क्रियाशील रहेको सुनाउँदै मन्त्री महर्जनले खेलाडीहरुको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारसँग पहल गरिरहेको बताउनुभयो । उहाँभन्नुभयो, “जहाँ गए पनि म पहिला खेलाडीहरुलाई खोज्छु, किनभने राष्ट्रको पहिचान जगाउने खेलाडीहरु नै हुन् ।”
बागमती प्रदेशका सासंद क्षेत्रबहादुर बम्जनले जिल्ला स्तरीय खेल खेलाउन सिन्धुलीमा खेल मैदानको अभाव रहेकोले व्यवस्थित खेल खेल्ने ठाउँ बनाउन मन्त्री महर्जनलाई बजेटको व्यवस्था मिलाई दिनुहुन आग्रह गर्नुभयो । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा लगायतका वक्ताहरुले खेल महोत्सव भव्य र सभ्यताका साथ सम्पन्न हुने अपेक्षा गदैँ खेलकुद सफलताको शुभकामना व्यक्त गर्नु भएकोथियो ।
प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, व्यडमिन्टन, कबड्डी, कराते, तेकन्दो, एथलेटिक्स, म्याराथन, बक्सिङ गरी दश वटा खेल खेलाइने छ । प्रतियोगिताका विजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा विधागत पुरस्कार प्रदान गरिने छ । साथै खेल क्षेत्रमा विशेष योगदान दिने खेलाडीहरुलाई सम्मान गर्ने समेत कार्यक्रम छ । महोत्सव सञ्चालन गर्न ४१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त बजेट स्थानीय तह, संघसंस्था तथा विभिन्न सहयोगी निकायहरूको सहयोग र सहकार्यमा व्यवस्थापन भइरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा विधागत पुरस्कार प्रदान गरिने छ । साथै खेल क्षेत्रमा विशेष योगदान दिने खेलाडीहरुलाई सम्मान गर्ने समेत कार्यक्रम छ । महोत्सव सञ्चालन गर्न ४१ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त बजेट स्थानीय तह, संघसंस्था तथा विभिन्न सहयोगी निकायहरूको सहयोग र सहकार्यमा व्यवस्थापन भइरहेको आयोजकले जनाएको छ ।
खेलको पहिलो दिन कबड्डी, सटपुट, १ हजार ५०० मिटर दौडका खेलहरु सम्पन्न भएका छन् । कबड्डीमा महिला तर्फ कमलामाई नगरपालिका र दुधौली नगरपालिकाबिच प्रतिस्पर्धा भएको थियो । जसमा २४/३३ को अन्तरले दुधौली पराजित हुँदै कमलामाई नगरपालिका नकआउटमा प्रवेश गरेको छ ।
त्यसैगरि फिक्कल गाउँपालिका र सुनकोसी गाउँपालिकाको बिच भएको प्रतिस्पर्धामा ३७/४३ को अन्तरले फिक्कल गाउँपालिकालाई पराजित गर्दै सुनकोसी गाउँपालिका नकआउटमा प्रवेश गर्न सफल भएको छ ।
एथलेटिक्स तर्फ १ हजार ५०० मिटर दौड र सटपुटमा कमलामाई, दुधौली नगपालिका, हरिहरपुरगढी गाउँपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, गोलन्जोर गाउँपालिका, घ्याङलेख गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो । जसमा महिला तर्फ सुनकोसी गाउँपालिका पहिलो, तीनपाटन गाउँपालिका दोस्रो र दुधौली नगरपालिका तेस्रो भएको छ । पुरुष तर्फ कमलामाई नगरपालिका पहिलो, फिक्कल गाउँपालिका दोस्रो र सुनकोसी गाउँपालिका तेस्रो भएको छ ।
सटपुटको महिला तर्फ फिक्कल गाउँपालिका पहिलो, मरिण गाउँपालिका दोस्रो र तीनपाटन गाउँपालिका तेस्रो भएको छ भने पुरुष तर्फ फिक्कल गाउँपालिका पहिलो, कमलामाई नगरपालिका दोस्रो, तीनपाटन तेस्रो भएको छ ।