शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा १४ हजार किशोरीले लगाए एचपीभी खोप

शनिवार , फाल्गुण ३, २०८१

सिन्धुली – सिन्धुलीमा ११ हजार १ जना किशोरीले एचपीभी खोप लगाइका छन् । माघ २२ गते देखि २८ गते सम्म सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धको एचपीभी खोप १४ हजार ६ सय २२ जना किशोरीलाई प्रदान गर्ने लक्ष्य राखिएकोमा १४ हजार १ जनालाई मात्र खोप प्रदान गरिएको हो ।

लक्ष्यको ९६ प्रतिशत किशोरीलाई खोप प्रदान गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले बताउनुभयो । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका सबै किशोरीलाई खोप लगाउन मन्त्रालयको आग्रह छ । जिल्लाका ग्रामिण क्षेत्रका सर्वसाधरणमा खोप लगाउनु पर्छ भन्ने जनचेतनाको अभाव हुदा शत प्रतिशत अभियान सफल हुन नसकेको जनस्वास्थ्य कार्यालय सिन्धुलीले निष्कर्ष निकालेको छ ।

खोप कार्यक्रममा दुधौली नगरपालिकाको केही वडामा जोराइ र सच्चाइ नामको धर्म अपनाएका किशोरीका परिवारले आफ्ना छोरीहरूलाई खोप कार्यक्रममा सहभागी गराउन इन्कार गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तका अनुसार लक्ष्य अनुसारको संख्यामा ४ प्रतिशत किशोरी एचपीभी खोप लगाउन छुटेका छन् । तीमध्ये अधिकांश दुधौली नगरपालिकाका केही वडाका किशोरी छन् । नियमित विद्यालय नजाने उनीहरूको संख्या एक सय जनाभन्दा बढी रहेको पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिन्धुली जिल्लामा १४ हजार ६ सय २२ जना १० देखि १४ वर्ष उमेर समूहका किशोरी रहेका तथ्यांक रहेको छ । देशव्यापी रूपमा माघ २२ गतेदेखि १५ दिनसम्म खोप कार्यक्रम सञ्चालन गरिएको भएतापनि सिन्धुली जिल्लाले २८ गतेसम्म खोप कार्यक्रम पुरा गर्ने लक्ष्य राखेको थियो ।

तर, २८ गतेसम्म ९६ प्रतिशत मात्रै लक्ष्य पुरा भएको पन्तले जानकारी दिनुभयो । दुधौली नगरपालिकामा ९३ प्रतिशत मात्रै खोप पूरा भएको भन्दै पन्तले भन्नुभयो,“ केही किशोरीहरू जिल्ला बाहिर रहेका केही बिरामी, गर्भवती र लामो औषधि सेवन गरिरहेकाहरू खोप कार्यक्रममा छुटेका छन् । केही भने संख्या धर्मको कारणले पनि खोप लगाउन इन्कार गरेका छन् । यो संख्या एक सय जना भन्दा बढी रहेको छ ।”

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख गजेन्द्र यादवले पनि सच्चाइ नामको नयाँ धर्म अपनाएका किशोरीहरूका परिवारले स्वीकृति नदिएका कारण खोप कार्यक्रम पुरा गराउन समस्या भएको बताउनुभयो ।

पाठेघरको क्यान्सर विरुद्धको रोकथामको लागि सञ्चालित खोप कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा स्थानीय तहले सञ्चालन गरिरहेको हो । दुधौली नगरपालिकाको केही वडामा रहेका सच्चाइ र जोराइ नामको धर्म मानेका परिवारले खोप लगाउन इन्कार गरेपछि नगरपालिकाले जिल्ला प्रहरी, नगर प्रहरी तथा जनप्रतिनिधिसहित गएर ती परिवारलाई सम्झाउँदै आफ्ना छोरीलाई खोप कार्यक्रममा सहभागी गराउन अनुरोध पनि गरेको छ ।

खोप कार्यक्रमको महत्व बुझाउँदै सम्झाएपछि गरेपछि खोप लगाउन नमानेका ३२ जनालाई खोप लगाइएको खोप कार्यक्रमका अधिकृत पन्तले जानकारी दिनुभयो । अझै पनि कतिपय परिवारले एपभीपी खोप लगाउन इन्कार गरेका छन् ।

दुधौली नगरपालिकाका नगरप्रुमख दिनेश अधिकारी दुधौली नगरपालिकाका ९ र १३ वडामा सच्चाइ र जोराइ नामको धर्म मान्ने मानिसहरू बसोबास गर्ने बताउनुभयो । उहाँका अनुसार फरक फरक नाम भए पनि दुवै क्रिश्चियन धर्म हो ।

“हाम्रो पालिकाको दुई वटा वडा ९ नम्बरको सिरियानी खानीपारि र १३ नम्बर वडाको मनवा चौतारा क्षेत्रमा यो धर्म मान्ने मानिसहरूको बसोबास छ । उनीहरूको परिवारमा खोप लगाउनुहुँदैन भन्ने भ्रम रहेछ । हामीले सम्झाएका छौँ, अझै पनि सम्झाएर खोप कार्यक्रममा सहभागी हुन थप अनुरोध गर्छौँ ।”

प्रतिक्रिया