जिद्दी हुनु बच्चाहरूको सामान्य समस्या हो, जसले धेरै अभिभावकलाई सताउँछ । यदि बाल्यकालमै बच्चाहरूको यस बानीमा ध्यान दिइएन भने यो भविष्यमा ठूलो चुनौती बन्न सक्छ । बच्चाहरूको व्यवहार उनीहरूको विकास, वातावरण र पालनपोषणमा भर पर्दछ । बच्चाको जिद्दी स्वभाव उसको वातावरण र हेरचाहको परिणाम हो ।
अभिभावकको धैर्यता, समझदारी र मायाले बच्चाको व्यवहार सुधार्न मद्दत पुर्याउन सक्छ । बच्चासँग मित्रतापूर्ण व्यवहार गर्नुहोस्, उसको भावना आदर गर्नुहोस् र अनुशासनको महत्त्व सिकाउनुहोस् ।
बच्चा जिद्दी बन्ने कारण र अभिभावकले ध्यान दिनुपर्ने विषय :
अत्यधिक माया र लाडप्यार :– जब बच्चाको प्रत्येक माग पूरा गरिन्छ, बच्चा विस्तारै जिद्दी हुन थाल्छ । उसलाई यो विश्वास हुन्छ कि जिद्दी गर्दा उसको सबै इच्छा पूरा हुनेछ । आवश्यकता भन्दा धेरै स्वतन्त्रता दिनाले बच्चा जिद्दी बन्न सक्छ । अभिभावकले बच्चालाई अनुशासनको महत्त्व बुझाउनु जरुरी छ । मायाका साथ सीमाहरू निर्धारण गर्नुहोस् । बच्चाको हरेक कुरामा ‘हुन्छ’ भन्नुको साटो कहिलेकाहीं ‘हुँदैन’ भन्न पनि सिक्नुपर्छ ।
अभिभावकको असहमति र मतभेद :– यदि आमाबाबु कुनै कुरामा सहमत छैनन् र बच्चाको अगाडि एकअर्काको कुरा काट्छन् भने बच्चाले यस परिस्थितिको फाइदा उठाएर जिद्दी बानी अपनाउन सक्छ । बच्चाले अभिभावकबीच देखेको जिद्दीपनलाई आफ्नै जीवनमा पनि लागू गर्छ । अभिभावकले बच्चाको अगाडि एकजुट रहनुपर्छ र एउटै प्रकारको प्रतिक्रिया दिनुपर्छ ।
अत्यधिक प्रतिबन्ध र कठोरता :– केही अभिभावक बच्चामाथि आवश्यकता भन्दा बढी कडाइ गर्छन्, जसले गर्दा बच्चा जिद्दी बन्ने सम्भावना हुन्छ । बच्चालाई लाग्छ कि आफ्ना कुरा मनाउन उसले झन् बढी जिद्दी गर्नुपर्छ । हरेक कुरामा बच्चालाई नकारात्मक प्रतिक्रिया दिनाले पनि उसको स्वभाव जिद्दी बन्छ । अभिभावकले माया र अनुशासनबीच सन्तुलन कायम गर्नुपर्छ । कठोर हुनुको साटो बच्चालाई बुझाएर सिकाउनुपर्छ ।
बच्चाको भावनाको बेवास्ता :– जब बच्चाको भावना र इच्छाहरूलाई लगातार बेवास्ता गरिन्छ, बच्चाले जिद्दी गर्न शुरू गर्छ । प्रायः बच्चाले अभिभावकको ध्यान आकर्षित गर्न जिद्दी गर्ने गर्दछ । यसको मुख्य कारण अभिभावकले बच्चालाई पर्याप्त समय दिन नसक्नु हो । अभिभावकले बच्चाको भावना बुझ्नुपर्छ, उनीहरूसँग संवाद गर्नुपर्छ । बच्चाका कुरा ध्यानपूर्वक सुन्नुहोस् र हरेक दिन बच्चासँग गुणस्तरीय समय बिताउनुहोस् ।