शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बीपी राजमार्गको निर्माणमा स्रोत अभाव हुन दिन्नौं :मन्त्री दाहाल

शनिवार , माघ २६, २०८१

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीले क्षति पुगेको बीपी राजमार्ग बनाउन स्रोतको अभाव हुन नदिने बताउनुभएको छ । शनिबार राजमार्ग निरीक्षण गर्दै स्रोत अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै क्षतिग्रस्त खण्डमा तुरुन्त पुनःनिर्माणको काम सुरु गर्न पनि उहाँले निर्देशन दिनुभएको हो ।

बर्खायाममा यातायात अवरुद्ध हुन नदिने गरी काम सुरू गर्न उहाँले सडक विभागको ध्यानाकर्षण गराउनुभएको छ । उक्त राजमार्ग देशको पूर्वी तराईलाई संघीय राजधानीसँग जोड्ने लाइफलाइन रहेकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरी काम अघि बढाउन सडक विभागलाई निर्देशन दिएको उहाँले बताउनुभयो । मन्त्रीसँगै बीपी राजमार्गको अनुगमन गर्न पुग्नुभएका मन्त्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरणसमेत तत्काल परिचालन गरेर काम सुरु गर्न सडक विभागलाई आग्रह गर्नुभयो ।

यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले अल्पकालीन र दीर्घकालीन तयारीसहित मर्मत र पुनःनिर्माणको काम थालिने बताउनुभयो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सडकको अवरोध हटाउने तथा तत्काल गर्नुपर्ने मर्मतको काम भइरहेको बताउनुभयो ।

काभ्रे भन्ज्याङ–नेपाल थोक खण्डको १२ किलोमिटर सडकमा गत असोज १० देखि १२ सम्म आएको बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । निर्माणका लागि अध्ययनको काम सकिएर बजेट अभावले थप प्रक्रिया अघि बढ्न सकेको छैन । अध्ययनअनुसार ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने देखिएको छ । यो सडक खण्ड भएर दैनिक ३ हजार बढी सवारीसाधन गुड्छन् । चाडबाडको बेला ७ देखि १० हजार हाराहारी सवारीसाधन ओहोरदोहोर गर्छन् ।

बजेट व्यवस्थापन भएपछि तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का गर्ने योजनामा सडक विभाग छ । काभ्रेको चौकीडाँडादेखि मुल्कोटसम्मको सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकीडाँडादेखि नेपाल थोक खण्डमा छ । बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पुर्‍याएको छ ।

त्यस्तै मन्त्री दाहालसहितको टोलीले शनिबार नै सूर्यविनायक–धुलिखेल सडकको समेत निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ । त्यस क्रममा आयोजना प्रमुख राजेन्द्र दासले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भइरहेको बताउनुभयो । कान्तिपुरबाट

प्रतिक्रिया