सिन्धुली – सिन्धुलीमा पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ । मंगलबारदेखि सुरु भएको अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । सिन्धुलीकोे नौ स्थानीय तहका छात्राहरूलाई खोप लगाइँदैछ ।
जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले शिद्धस्थली इङ्लिस बोर्डिङ स्कुलबाट एक औपचारिक कार्यक्रम गरी खोप अभियानको अभियानको शुभारम्भ गर्नु भएको हो । अभियानको उदघाटन कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख लामाले लक्षित छात्राहरू नछुट्ने गरी खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोपले समग्र क्यान्सरको दरलाई घटाउन सहयोग पुर्याउने उहाँले विस्वास गर्नुभयो ।
स्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले यस अभियानमा सिन्धुलीको नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत १४ हजार ५०५ र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका ११७ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने जानकारी दिनुभयो ।
उहाँका अनुसार कमलामाई नगरपालिकामा माघ २२ गते देखी २८ गते सम्म, दुधौली नगरपालिकामा माघ २२ गते देखी २७ गते सम्म, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा माघ २२ गते देखी २५ गते सम्म पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन हुने उहाँको भनाई छ ।
गोलञ्जोर गाउँपालिकामा माघ २२ गते देखी २७ गते सम्म, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा माघ २२ गते देखी माघ २६ गते सम्म अभियान सञ्चालन गरिने उहाँको भनाई छ । यस अभियान २२२ वटा विद्यालय र ८१ वटा स्वास्थ्य संस्थामा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । खोप अभियान सञ्चालन गर्न २२३ जना स्वास्थ्यकर्मी, ४६२ जना स्वयंसेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन उहाँले अनुरोध गर्दै एचभीपी खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो र संसारका धेरै देशमा प्रयोग हुँदै आएको खोप भएको जानकारी दिनुभयो । एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्नेछ । उहाँका अनुसार विश्वमा यसको सफल परीक्षण भइसकेको छ । यो सुरक्षित र प्रभावकारी पाइएको छ । नकारात्मक असर देखिएको छैन । विश्वभरि नै एचपीभी नामक भाइरसले पाठेघरको मुखको क्यान्सरका बिरामीको दर र मृत्युदर समेत बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । अरु क्यान्सरको ठोस कारण पत्ता नलागे पनि पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसबाट हुने अनुसन्धानले देखाएका छन् । विश्वभरि नै एचपीभी नामक भाइरसले पाठेघरको मुखको क्यान्सरका बिरामीको दर र मृत्युदर समेत बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।