शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया

शुक्रवार , पौष २६, २०८१

सिन्धुली – सिन्धुली अस्पतालमा चार जनाको मेरुदण्डको सफल शल्यक्रिया भएको छ । जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्डेन डाक्टर अभिषेक थपलियाका अनुसार हाल सम्म अस्पतालमा चार जनाको मेरुदण्डको शल्यक्रिया गरिएको हो । गत पुष १ गते कमलामाई नगरपालिका १२ का ३९ वर्षिय पुरुषको मेरुदण्डको सफल सल्यक्रिया गरिएको थियो । लडेर कम्बर पछाडिको भाग भाचिएर अस्पताल पुगेका पुरुषको शल्यक्रिया गरिएको हो । गोलन्जोर गाउँपालिका २ का २१ वर्षिय युवकको पनि मेरुदण्डको सफल शल्यक्रिया भएको डाक्टर थपलियाले बताउनुभयो । युवकको लडेर कम्बर पछाडिको भाग च्यापिएको थियो । तिनपाटन गाउँपालिका ७ का ४७ वर्षिय महिलाको विहिबार मेरुदण्डको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । शल्यक्रिया गरेका बिरामी अहिले हिँडडुल गर्छन् , बोल्न सक्ने भएका छन् ।

डाक्टर थपलियाले मेरुदण्डको शल्यक्रिया अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताउनुभयो । “अस्पतालमा मेरुदण्डको शल्यक्रिया भएको थिएन । म आएपछि यो पहिलो हो,” उहाँले भन्नुभयो ‘निकै जटिल शल्यक्रिया गरेर बिरामी निको भएका छन् । हामी यसैमा खुसी छौँ ।” केहि महिनाअघि सम्म सिन्धुली जिल्लाबासी हाडजोर्नी तथा मेरुदण्डको समस्या भए काठमाण्डौं, भारतका विभिन्न सहरहरुमा धाउनुपर्ने बाँध्यता रहेको थियो । डा. थपलियाले उपचार अभावका कारण यहाँका मानिस अन्यत्र पठाउनुपर्ने बाँध्यताको सृजना कतैबाट नहुनुपर्ने बताउनुभयो । मेरुदण्डको सफल शल्यक्रिया हाडजोर्नी विशेषज्ञ डा. सुशान्त खड्का, डा. शसि रन्जन प्रधान र डा. प्रशान्त सिल्वालको टोलीले गरेका हुन् ।

सिन्धुलीमै शल्यक्रिया सेवा सुरु भएपछि जिल्लाका ढाडसम्बन्धी बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया जिल्लाकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडी बाहेकका अन्य विशेष प्रकारका सेवा समेत दिन थालेको छ ।

चित्सिकका अनुसार मेरुदण्डसम्बन्धी बिरामीमध्ये करिब १० प्रतिशतको मात्रै शल्यक्रिया गर्न आवश्यक हुन्छ । अत्यधिक दुखाइका कारण संक्रमण र ट्युमर हुन सक्ने भएकाले शल्यक्रिया (स्पाइनल सर्जरी)को जरुरी हुने उनीहरु बताउछन् । मेरुदण्ड बांगिने समस्या स्कोेलियोसिस र किफोसिस भएमा शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताए । विभिन्न कारणले नसा च्यापिएर प्यारालाइसिस हुने स्थिति आएमा साथै अग्लो ठाउँबाट लड्दा वा सवारी दुर्घटनामा हड्डी भाँचिएर नसा च्यापिन सक्छ । यस्तो वेला शल्यक्रिया गर्नुपर्ने बताइएको छ । यस्तै ढाडमा चोटपटक लागेर हड्डीमा समस्या आएमा पनि शल्यक्रिया आवश्यक रहेको बताइएको छ ।

प्रतिक्रिया