काठमाडौँ, २६ मंसिर– पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा मंगलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहनु भएको छ ।
हालसम्म पाँच खेलमध्ये लगातार चार खेलमा पराजित हुँदा एउटा खेलमा भने जित हात पारेको छ । पहिलो खेल विराटनगरसँग दुई विकेटले हारेको लुम्बिनीले दोस्रो खेलमा पोखरासँग १० विकेटले हारेको थियो । तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले हार्दा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।
एनपिएलमा लुम्बिनीको प्लेअफको यात्रा लगभग समाप्त भइसकेको अवस्थामा मंगलबार भने चितवन राइनोजलाई पराजित गर्दै प्राविधिक रुपमा भए पनि शीर्ष चारमा पुग्ने सम्भावना कायमै राखेको छ । एनपिएलमा ४ खेलमै चारै खेल हारेर शून्य अंकसहित तालिकाको पुछारमा रहेको लुम्बिनीले पाँचौँ खेलमा सफलता हात पारेपछि अहिले अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
रोहितको अलराउण्डर प्रदर्शन
लुम्बिनीले ५ खेलमा ४ खेलमा हारे कप्तान पौडेलले भने हार्नु भएन् । उहाँले आफ्नो अलराउण्डर प्रदर्शनबाट क्रिकेट प्रेमीको मन जित सफल हुनु भयो । एनपिएलमा आफ्नो पहिलो खेलमा लुम्बिनीले विराटनगर किंग्सको सामना ग¥यो । विराटनगरविरुद्ध कप्तान पौडेलको प्रदर्शन उत्कृष्ट नै रह्यो । उहाँले लुम्बिनीको तर्फबाट सर्वाधिक ४६ रन बनाउनु भएको थियो । उहाँले २९ बलमा दुई छक्का र चार चौकाको मद्दतले ४६ रन बनाउन सफल हुनु भयो । यद्यपि, उहाँले विराटनगरविरुद्ध बलिङ भने गर्नु भएन् ।
लुम्बिनीले दोस्रो खेल पोखरा एभेन्जर्ससँग खेल्यो । पोखरासँग १० विकेटले हारे कप्तान रोहितको प्रदर्शन प्रशंसा गर्न लायक नै थियो । उहाँले पोखराविरुद्ध एक्लैले ९५ रन बनाउनुभयो । ५९ बलमा चार छक्का र १० चौकाको मद्दतले ९५ रन बनाउन सफल हुनु भयो ।
उक्त खेलमा लुम्बिनीले ब्याटिङ गरिरहँदा रोहित एनपिएलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बन्नु भएको थियो । यद्यपि, लुम्बिनी विरुद्ध जवाफी ब्याटिङ गरेको पोखराका एन्ड्रिज गौसले अविजित एक सय चार रन बनाउनु भएपछि उहाँको रेकर्ड तोडिएको थियो ।
लुम्बिनीले आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सको समान गरेको थियो । उक्त खेलमा कप्तान पौडेलले ब्याटिङतर्फ पाँच रन बनाउनु भएर आउट हुनु भयो बलिङतर्फ एक विकेट हात पार्नु भएको थियो । रोहितले ४ ओभर बलिङ गर्दा जम्मा २२ रन मात्रै खर्चिनु भएको थियो ।
चौथो खेलमा जनकपुर बोल्ट्सको सामना गर्दा लुम्बिनीका कप्तान रोहितको प्रदर्शन सानदार थियो । उहाँले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङतर्फ सर्वाधिक ३५ रन बनाउँदा बलिङतर्फ चार ओभरमा २२ रन मात्रै खर्चिएर दुई विकेट हात पार्नु भएको थियो ।
लुम्बिनीले आफ्नो पाँचौँ खेलमा चितवन राइनोजलाई हराएर पहिलो जित निकाल्यो । उक्त खेलमा कप्तान रोहित नायक नै बन्नुभयो । उहाँले ब्याटिङ र बलिङ दुवैतर्फ नायकको भूमिका निभाउनुभयो ।
चितवन राइनोजविरुद्ध रोहितले ब्याटिङतर्फ सर्वाधिक ८० रन बनाउनुधयो । ५७ बलमा पाँच चौका र छ छक्काको मद्दतले रोहितले ८० रन जोड्दा लुम्बिनीले एक सय ६८ रनको लक्ष्य दिन सफल भएको हो ।
बलिङतर्फ पनि रोहितले सर्वाधिक चार विकेट लिनुभयो । चार ओभर बलिङ गरेका रोहितले जम्मा १७ रन मात्रै खर्चिनु भयो । यो खेलमा रोहितको अलराउण्डर प्रदर्शन नभएको भए लुम्बिनीको जित कल्पना गर्न सकिँदैन ।
एनपिएलमा सबैभन्दा धेरै रन रोहित नाममा
जारी एनपिएलमा सबैभन्दा धेरै रन बनाउने पहिलो नम्बरमा हुनुहुन्छ, कप्तान रोहित । उहाँले पाँच खेलबाट सर्वाधिक दुई सय ६१ बनाउनु भएको छ ।
रोहितले एनपिएलमा दुई अर्धशतक प्रहार गर्नु भएको छ । साथै, जारी एनपिएलमा ११ छक्का र २४ चौकासमेत प्रहार गरेर सबैभन्दा धेरै बाउण्ड्री प्रहार गर्नेमा पहिलो नम्बरमा हुनुहुन्छ ।
धेरै रन बनाउनेमा दोस्रो नम्बरमा चितवन राइनोजका रवि बोपारा हुनुहुन्छ । उहाँले जारी एनपिएलमा एक सय ९६ रन बनाउनुभएको छ । एनपिएलमा एक सय ८९ रन बनाएर जनकपुर बोल्ट्सका लागि मिलन्था तेस्रो नम्बरमा हुनुहुन्छ ।
सकारात्मक महसुस गरिरहेको छुः कप्तान रोहित
लुम्बिनीका कप्तान रोहितले एनपिएलमा आफ्नो प्रदर्शन राम्रो भइरहेको बताउनुभएको छ । मंगलबार चितवनलाई ३३ रन हराएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले ब्याटिङ गर्ने क्रममा सकारात्मक महसुस गरिरहेको बताउनुभयो । उहाँले समय राम्रो चलिरहेको जिकिर गर्नुभयो ।
“मुख्यतयाः यो प्रतियोगितामा एकदम राम्रो भइरहेको छ । ब्याटिङ गर्ने क्रममा एकदम सकारात्मक महसुस गरिरहेको छु । बललाई एकदम राम्रोसँग हेरिरहेको छु, त्यो चाही सकारात्मक हो मेरो लागि । यसलाई निरन्तरता दिइरहेको छु”, कप्तान रोहितले भन्नुभयो, “समय राम्रो चलिरहेको छ । गुडलाई ग्रेटमा कन्भर्ट गर्न प्रयास गरिरहेको छु ।”