शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?

बुधवार , मंसिर १९, २०८१

काठमाडौँ, २० मंसिर – शनिबारदेखि काठमाडौँमा सुरू भएको पहिलो संस्करणकोे नेपाल प्रिमियर लिग (एनपिएल) बुधवारसम्म आइपुग्दा सात वटा खेल भए ।

एनपिएलमा पहिलो तथा उदघाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज, तेस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स, चौथो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स र पाचौँ खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भयो । त्यस्तै, आज कर्णाली याक्स र काठमाडौँ गुर्खाज र विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच पनि  खेल भयो ।

सात खेलमध्ये दुई÷दुई खेल खेलेका जनकपुर बोल्ट्स र चितवन राइनोजले दुवै खेलमा जीत हात पारे । सुदूरपश्चिम रोयल्सले एक खेल जित्यो । विराटनगर किंग्स तीन वटा खेल खेल्दा दुई वटामा हार व्यहोेर्यो ।

कर्णाली याक्स दुईवटै खेलमा पराजित हुँदा एक खेलमात्रै खेलेको पोखरा एभेन्जर्स र लुुम्बिनी लायन्सले पहिलो खेलमै पराजय भोग्न पुगे । काठमाडौँ गुर्खाजले २ खेलमा एक खेल जित्यो भने एक खेलमा पराजित भयो ।

एनपिएलका लागि ८ फ्रेन्चाइज टोलीले ‘लक्की ड्र’ मार्फत मार्की खेलाडी अनुबन्ध गरेका थिए । लक्की ड्रमार्फत काठमाडौँले बलर करण केसी, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई मार्की खेलाडीको रूपमा पाएको थियो ।

त्यस्तै, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख, कर्णालीले तीव्र गतिका बलर सोमपाल कामी र सुदूरपश्चिमले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मार्की प्लेयरका रूपमा पाएको थियो । मार्की खेलाडीले हरेक सिजनमा समान २० लाख रूपैयाँ पाउने गरी टिमले उनीहरूसँग तीन वर्षको सम्झौता गरेको थियो ।

एनपिएलमा अहिलेसम्म भएका सात खेलमा सबै टोली खेलिसकेका छन् । हालसम्म मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?

आसिफ शेख, जनकपुर बोल्ट्स

जनकपुरका कप्तान अनिल शाह भए पनि मार्की खेलाडी आसिफ शेख हुन् । आशिफ मार्की खेलाडी रहेकोे जनकपुर बोल्ट्सले जारी एनपिएलमा दुई खेल खेलेको छ । जनकपुरले दुवै खेलमा विजय हासिल गरेको छ ।

एनपिएलको पहिलो तथा उदघाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हरायो । तर, पहिलो खेलमा आशिफ शेखको प्रदर्शन खासै गतिलो भएन । उहाँ शून्य रनमै पभेलियन फर्किनु परेको थियोे ।

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा आइतबार कर्णाली याक्सको सामना गर्यो । कर्णालीविरूद्ध जनकपुर बोल्ट्सले सुरूदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ सेखले सानदार प्रदान गरे । उनीहरूले ८४ रनको साझेदारी गरे । अनिल र आसिफले गरेको साझेदारी जारी एनपिएलमा दुवै ओपनरले गरेको अहिलेसम्मको ठूलो साझेदारी पनि बन्यो ।

जनकपुरको जितमा आशिफले ३६ रनको योगदान दिएका थिए । उनले २९ बलमा दुई चौका र दुई छक्काका मद्दतले ३६ रन बनाए ।

कुशल मल्ल, चितवन राइनोज

नेपाली राष्ट्रिय टोलीका सदस्य कुशल मल्ल मार्की खेलाडी रहेकोे चितवन राइनोजले आफ्नो दुई खेलमध्ये दुबै खेलमा जित हात पारेको छ ।

पहिलोे खेलमा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेट हरायो । काठमाडौँसँगको खेलमा मल्लले खासै गतिलो प्रदर्शन गर्न सक्नु भएन् । उहाँ ११ रनमा आउट हुन पुग्नुभयो । तर, बलिङमा भने एक विकेट लिन सफल हुनु भयो ।

चितवनले आफ्नो दोस्रो खेलमा मंगलबार पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हरायो । कप्तानले पोखराविरूद्ध ३८ रनको योगदान दिनुभयो । सो क्रममा मल्लले ४ छक्का र एक चौकासमेत प्रहार गर्नुभयो । तर, पोखराविरूद्ध २ ओभर बलिङ गर्नु भएका उहाँले एक विकेट पनि झार्न सक्नु भएन् । उल्टै, ११ रन खर्चिन पुग्नुभयो ।

सन्दीप लामिछाने, विराटनगर किंग्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पीनर सन्दीप लामिछाने विराटनगर किंग्सको मार्की खेलाडी हुनुहुन्छ । सन्दीप लामिछाने नेतृत्वकोे विराटनगर किंग्सले जारी एनपिएलमा तीन खेल खेलेको छ ।

पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स ८ विकेटले पराजित भयो । यो खेलमा सन्दीपले जनकपुरविरूद्ध ७ रन मात्रै प्रहार गर्नुभयो । तर, बलिङतर्फ भने जम्न सक्नु भएन् । उहाँले जनकपुरको एक विकेट पनि  झार्न सक्नु भएन् ।

विराटनगर किंग्स आफ्नोे दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनकोे फराकिलो अन्तरले हार्न पुग्यो । यो खेलमा पनि सन्दीपको प्रदर्शन खासै गतिलो हुन सकेन । सुदूरपश्चिमविरूद्ध ब्याटिङततर्फ ८ रन प्रहार गर्दा बलिङतर्फ एक विकेट पनि आफ्नो नाममा दर्ता गर्न सक्नु भएन् ।

यस्तै, तेस्रो खेलमा भने विराटनगरले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । यो खेलमा पनि मार्की खेलाडी सन्दीप न त ब्याटिङतर्फ जम्न सक्नुभयो, न त फिल्डिङ । लुम्बिनीविरूद्ध ब्याटिङ तर्फ एक रनमै आउट हुँदा बलिङतर्फ भने एक विकेट लिन सक्नुभयो ।

सोमपाल कामी, कर्णाली याक्स

जारी एनपिएलमा दुई खेल खेलेकोे कर्णाली याक्सकोे प्रदर्शन पनि खासै गतिलो देखिएन । कर्णाली याक्सले दुुई खेलमा दुुवै खेल हार्न पुगेको छ ।

पहिलो खेलमा कर्णाली याक्स जनकपुरसँग ८ विकेटले पराजित हुन पुग्यो । योे खेलमा मार्की खेलाडी कामीको प्रदर्शन सन्तोषजनक नै रह्यो । उहाँले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिनु भयो । तर, बलिङतर्फ भने जम्न सक्नु भएन् ।

दोस्रो खेलमा कर्णाली याक्स काठमाडौँ गुर्खाजसँग तीन विकेटले पराजित हुुन पुग्यो । यो खेलमा कामीले ब्याटिङ नगरे पनि काठमाडौँविरूद्ध एक विकेट  लिन भने सफल हुनु भयो ।

करण केसी, काठमाडौँ गुर्खाज

जारी एनपिएलमा काठमाडौँ गुर्खाजले दुई खेल खेलेको छ । जसमध्ये एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार भोगेको छ । पहिलो खेलमा काठमाडौँ गुर्खाज  चितवन राइनोजसँग ५ विकेटले हार्न पुग्यो ।

पहिलो खेलमा मार्की खेलाडी केसी न त ब्याटिङतर्फ जम्न सक्नुभयो, न त फिल्डिङ तिर । केसीले  काठमाडौँ गुर्खाजविरूद्ध ब्याटिङतर्फ एक रन बनाएर आउट हुनु भएको  थिए भने बलिङतर्फ भने जम्न सक्नु भएन् ।

यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले पराजित गर्यो । यो खेलमा केसीकोे प्रर्दशन सानदार नै थियोे । काठमाडौँविरूद्ध केसीले ब्याटिङतर्फ १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाउनु भएको थियो भने बलिङतर्फ एक विकेट लिन सफल हुनुभयो ।

दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स

 जारी एनपिएलमा एक खेल खेलेकोे सुदूरपश्चिम रोयल्सले पहिलो खेलमै सानदार प्रर्दशन गर्यो । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गर्यो ।

यो खेलमा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको प्रर्दशन सानदार नै रह्यो । उहाँले अर्धशतक पारी खेल्नुभयो । विराटनगरविरूद्ध सुदूरपश्चिमका ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाउनु भएको थियो ।

बलिङतर्फ भने एक विकेट हात पार्न सक्नु भएन् । उल्टै २ ओभरमा ९ रन खर्चिन पुग्नुभयो ।

कुशल भुर्तेल, पोखरा एभेन्जर्स

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओेपनर समेत रहनु भएका कुशल भुर्तेल एनपिएलको टोली पोखरा एभेन्जर्सका मार्की खेलाडी हुनुहुन्छ । तर, जारी एनपिएलमा पोखराकोे सुरूवात राम्रो हुन सकेन ।

एक खेल खेलेको पोखराले पहिलो खेलमै चितवन राइनोजसँग ८७ रनको फराकिलो अन्तरले हार्नु पर्यो । यो खेलमा मार्की खेलाडी कुशल भुर्तेल पनि चल्न सक्नु भएन् । राइनोजविरूद्ध ब्याटिङतर्फ उहाँ पहिलो बलमै आउट हुन पुग्नुभयो । बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिनुभयो । तर, खेलमा उहाँले तीन वटा क्याच भने समात्नुभयो ।

रोहितकुमार पौडेल, लुम्बिनी लायन्स

एनपिएलको टोली लुम्बिनी लायन्सका मार्की खेलाडी रहेका रोहितकुमार पौडेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पनि हुनुहुन्छ ।

रोहित नेतृत्वको लुुम्बिनी लायन्सले एनपिएलमा एउटा मात्रै खेल खेलेको छ । पहिलो खेलमै लुम्बिनी लायन्स विराटनगरसँग २ विकेटले पराजित भयो ।

लुम्बिनीका लागि पौडेलले सर्वाधिक ४६ रन बनाउनुभयो । उहाँले २९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै ४६ रन बनाउनु भएको हो । तर, बलिङ भने गर्नु भएन् ।

प्रतिक्रिया