काठमाडौँ , १३ कार्तिक – विश्वकप लिग-२ मा नेपालले जितको अनुभव गर्न नपाएको २ सय ५५ दिन पूरा भइसकेको छ। फेब्रुअरी १७ अर्थात गत फागुन ५ यता नेपाली टिमले खेलेका कुल ७ खेलमा जित निकाल्न सकेको छैन।
एक खेल वर्षाका कारण एक अंक प्राप्त गर्नु बाहेक नेपालले बाँकी ६ खेल गुमाएको छ। त्यसोत फेब्रुअरीमै खेलेको लिग-२ को पहिलो खेल पनि हारेको थियो।
यो सहित नेपालले खेलेका कुल ९ खेलमा १ मात्र जित नेपाली टिमले अनुभव गरेको छ। एकदिवसीय अन्तर्राष्ट्रियमा लगातारको हारले नेपाल आजित छ।
यस्तोमा अब नेपालमाथि स्वभाविक रुपमा जित निकाल्नै पर्ने दबाब थपिएको छ। अमेरिकी सिरिजमा नेपालले जितको ‘मोमेन्टम’ फिर्ता नल्याउने हो भने अबको यात्रा दिनदिनै कठिन बन्दै जाने छ।
जारी सिरिजमा सहभागी ८ टोलीमा नेपालले चौथो धेरै खेल खेलेको छ। अर्थात क्यानडा र नामिबियाले ९-९ खेल खेल्दा अमेरिकाले १० तथा नेपालले ९ खेल खेलको छ।
यस्तोमा नेपालको स्थान भने पुछारबाट दोस्रो स्थानमा छ। ७ खेल खेलेको युएइ २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ।
क्यानडा र अमेरिका क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा नेदरल्यन्ड तेस्रो तथा स्कटल्यान्ड चौथो स्थानमा रहेको छ। आज नेपालले अमेरिकामा जारी सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग खेल्दै छ।
तुलनात्मक रुपमा बलियो स्कटल्यान्डले सिरिजको पहिलो खेलमा अमेरिकालाई १० विकेटले हराएर प्रभावसाली सुरुवात गरेको छ। त्यस्तो स्कटल्यान्ड पछिल्लो पाँच खेलमा अपराजित छ।
जसमा ४ खेलमा निरन्तर जित निकाल्दै आएको छ। पछिल्लो पटक यि दुई टोलीबिच २१ फेब्रुअरी २०२३ मा प्रतिस्पर्धा भएको थियो। जसमा नेपालले २ विकेटको जित निकालेको थियो त्यसअघि १७ फेब्रुअरीमा पनि नेपालले जित हासिल गरेको थियो।
विश्वकप लिग-२ मै भिडेका यी दुई टोली पुनः एकपटक सोही प्रतियोगिताको नयाँ संस्करणमा भिड्न लागेका हुन्। तर यो पटक नेपाल दबाबमा छ।
अघिल्लो पटक उत्कृष्ट लयमा रहेको नेपाल यो पटक लरखराएको छ। जारी सिरिजको सर्वाधिक रन र राम्रो खेल खेलेको अमेरिकासँगको यही सिरिजमा हो।
तर उक्त खेल पनि नेपालले गुमाउन पुगेको थियो। त्यसैले स्वभाविक रुपमा बलियो आत्मविश्वासमा रहेको स्कटल्यान्डविरुद्ध नेपालको प्रदर्शन आगामी खेलका लागि र समग्रमा नेपालको आगामी एकदिवसीय यात्राका लागि अर्थपूर्ण हुनेछ।