शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

सोमवार , भाद्र ३, २०८१

सिन्धुली – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज सिन्धुली लगायत देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैदिन ब्राहृमण, क्षेत्री र वैश्यगरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पणगरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।

यसैगरी नेपालको तराईक्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइने पर्वको सिन्धुलीमा पनि चहलपहल देखिएको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यताको प्रभाब सिन्धुलीमा पनि बढिरहेको छ । अहिले सिन्धुली जिल्लाको नगर, गाउँ र बस्तीका पसल रंगीविरंगी राखीले भरिभराउ भएका छन् । राखीसँगै विभिन्न प्रकारका मिठाइ तथा फलफूलले बजारको रौनकता बढाएको छ । मानिसको भिडभाडले बजारमा अरुबेला भन्दा बढी चहलपहल देखिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि बजारमा राखी किन्ने र बेच्नेको उपस्थिति बढेको देखिन्छ ।

ग्राहकको रोजाइँ अनुसार राखी उपलब्ध गराउन व्यस्त रहेको सिन्धुलीमाढीमा राखी बेच्दै गरेका मुकेश साहले बताउनुभयो । उहाँले चार वर्षदेखि चाडपर्व लक्षित अस्थायी पसल गर्दै आउनुभएको छ । उहाँले प्रति राखी रू ५० देखि रू पाँच सयसम्म पर्ने बताउनुभयो । “बच्चालाई लोभ्याउने खालका विभिन्न कार्टुन वा खेलौना जडित राखी पनि बजारमा पाइन्छन् । यसको मूल्य अरुभन्दा केही कम हुन्छ”, उहाँले भन्नुभयो ।

रक्षा बन्धन पर्वका लागि राखी लगाएत मिठाइका परिकार किन्नेको चहलपहल देखिएको छ । सिन्धुलीमाढी बजार क्षेत्रमा राखी सहित उपहारका सामाग्री लगाएत मिठाइका विभिन्न परिकार किन्नेको भिड बढेको हो । जिल्लाको बजारका मुख्य चोक तथा ग्रामिण भेगको बजारमा समेत राखी किन्नेको चहलपहल बढेको छ । सिन्धुलीमाढी, चकमके, मरिण, दुधौली बजार लगाएत सबै स्थानिय तह भित्रका स्थानिय बजारमा राखी किन्नेको चहलपहल बढेको हो ।

बजारका किराना पसलमा क्वाटीको व्यापार बढेको थियो भने ठेलागाडा तथा चोक चोकमा राखी किन्नेहरुको लर्को लागेको थियो । कमलामाई नगरपालिका ६ गैरिबजारको सन्तोष मिठाइ पसलमा आइतबार दिनभर नै मिठाइ किन्नेको भिड लागेको थियो । मिठाइ पसल अगाडि राखी किन्नेको पनि भिड थियो । मिठाइ पसलमा मिठाइका परिकार किन्न उपभोक्ता घण्टै पालो कुरिरहेका थिए ।

राखी किन्नको लागि गाउँदेखि बजार सम्म आउनेको संख्या पनि धेरै नै थियो । कमलामाई नगरपालिका ४ की देविका कार्कीले २ दाजुभाइका लागि एउटैको डेढ सय पर्ने राखी किन्नु भएको छ । “दाजुभाइसँगको पवित्र नाता थप कसिलो बनाउन आज बिहानै राखी बाँध्दै छु,” उहाँले भन्नुभयो । कमलामाई नगरपालिका ६ की पार्वती सुनुवार पनि ढुंग्रेबासचोक नजिकै राखी किन्दै हुनुहन्थ्यो । उहाँले चार दाजुभाइलाई प्रत्येक वर्ष रक्षाबन्धनका दिन राखी बाँध्ने गरेको अनुभव सुनाउनुभयो ।

जिल्लाको तिनपाटन गाउँपालिका घर भई जागिरको सिलसिलामा सिन्धुलीमाढी बस्दै आउनु भएएका रमेश न्यौपानले दिदिबहिनीसँग राखी बाँध्न नपाएकोमा दुःख लागेको बताउनुहुन्छ । रक्षा बन्धन पर्वमा दिदीबहिनीले आफ्ना दाजु–भाइको लामो आयु र हरेक विघ्न–बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन रहेको छ । सोहि चलन अनुसार दिदिबहिनिले आफ्नो दाजुभाइलाई राखी बाध्ने गर्दछन् । विवाह भएर गएका चेलीले आफ्ना दाजुभाइलाई राखी बन्धनमा राखी बाध्न निम्तो दिने गर्दछन् भने अविवाहित चेलीले पर्वको अवसरमा दाजुभाइलाई मन पर्ने परिकार बनाएर खुवाउने प्रचलन रहेको छ ।

क्वाँटी खाने दिन

जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया