सिन्धुली– सिन्धुलीमा ज्वरोको बिरामी बढेका छन् । जिल्ला अस्पताल सिन्धुलीमा ज्वरोको विरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अभिषेक थपलियाले बताउनुभयो । गाउँगाउँमा बिरामी बढेसँगै सिन्धुलीअस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।
जिल्लाको स्वास्थ्य चौकी, अस्पताल र क्लिनिकहरुमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । सिन्धुली अस्पतालमा दैनिक ५० देखि ६० जना भाइरल ज्वरोका विरामी आउने गरेका डाक्टर थपलियाले बताउनुभयो । “अस्पतालमा अहिले भाइरल ज्वरोको विरामी बढेका छन् । दैनिक ५० देखि ६० जना ज्वरोको विरामी आउने गर्दछन् । पाँच जना ज्वरोको विरामी अस्पतालमा भर्ना नै भएर उपचाररत छन्”, उहाँले भन्नुभयो । वर्षातको समयमा सबैभन्दा बढी भाइरलको प्रकोप देखिने गरेको उहाँले बताउनुभयो । उहाँले हाल अस्पतालमा आउने बिरामीमध्ये ३० देखि ४० प्रतिशतसम्म भाइरल प्रकोपबाटै ग्रस्त भएका विरामीहरु आउने गरेको बताउनुभयो । वर्षातको समयमा पानीको सुद्धिकरण नगरी दुषित पानी पिएकै कारण यो रोगको संक्रमण हुने गरेको डाक्टर थपलियाले बताउनुभयो ।
ज्वरो अत्याधिक आउने, टाउको दुख्ने, शरीरका आाख्ला दुख्ने, कमजोरी हुने, रिंंगटा लाग्ने र कसैकैलाई वान्ता हुने, घाटी खस खस गर्ने, खोकी लाग्ने समस्या भाइरल प्रकोपका विरामीको लक्ष्मण भएको उहाँको भनाई छ ।
भाइरल रोगबाट विशेषगरी पाँच वर्षमुनिका बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् । संक्रमितहरुमा खोकी लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने, शरीर दुख्ने जस्ता लक्षण देखिएको अस्पतालले जनाएको छ । केही साता यता फैलिएको भाइरल ज्वरोका कारण अधिकांश गाउँका बासिन्दा बिरामी परेका छन् भने झाडापखाला, आउँ, रुघाखोकी, टाइफाइड, निमोनियाका बिरामीको संख्यासमेत बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकामा समेत क्षणमा ज्वरो आउने क्षणमै ज्वरो घट्ने, शरीरका केही भागमा तापक्रम बढे पनि केही भागमा चिसोपना नै रहने लगायतका लक्षण देखिएको छ । कतिपय बिरामीमा अधिक टाउको दख्नु , बान्ता हुने लक्षण समेत देखापरेको छ । डाक्टर थपलियाले भिडभाडमा नजान र मास्कका प्रयोग गर्न सुझाव दिनुभएको छ । पानी उमालेर मात्र पिउन समेत उहाँले आग्रह गर्नुभयो । साथै विरामीहरुले झोल पदार्थ प्रशस्त खानुका साथै घाम, पानीबाट बच्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
विरामीहरुले समेत घरमै बसेर अनेक औषधि गर्दा समेत निको नभएपछि बाध्य भएर अस्पतालमा उपचारका लागि आएको बताएका छन् । उनीहरुले समेत यो रोग लागेपछि ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, घाटी दुख्ने खोकी लाग्ने लगायतका समस्या देखिएको बताएका छन् ।
उनीहरुले भाइरल ज्वरोलाई सामान्य रोगको रुपमा नलिएर समयमै नजिकको स्वास्थ्य चौकी अथवा अस्पतालहरुमा चेक गरी औषधी खान सुझाएका छन् । धेरैजसो भाइरल ज्वरोका विरामीहरु सामान्य रोग भन्दै घरमै जथाभावि औषधि किनेर खाने गरेकाले स्वास्थ्यमा सुधारको साटो अझै स्वास्थ्य विग्रिएर गएको पाइएकोले सर्वसाधारणको भाइरल ज्वरोको बारेमा सचेतना कार्यक्रम गर्न आवश्यक भएको उपचारमा आएका विरामीहरुको सुझाव छ ।