शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

गर्मी बढेसँगै सिन्धुली अस्पतालमा बिरामीको चाप

बुधवार , बैशाख १९, २०८१

सिन्धुली– गर्मी बढेसँगै सिन्धुली अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ । गर्मीका कारण झाडापखाला हुने, पेट दुख्ने, छाला चिलाउने, आँखा पाक्नेजस्ता समस्या देखिएने बिरामी बढेका हुन् ।

अस्पतालमा उल्टी गर्ने, पेट दुख्ने, सास फेर्न गाह्रो हुने बिरामीको संख्या बढेको जिल्ला अस्पताल सिन्धुलीका सुपरिटेन्डेन डा. अभिषेक थपलियाले बताउनुभयो । “ अहिले जिल्लामा अत्यधिक गर्मी छ । गर्मीका कारण झाडापखाला हुने, पेट दुख्ने, छाला चिलाउने, आँखा पाक्नेजस्ता समस्या देखिएको छ,” उहाँले भन्नुभयो । दैनिक दुइ सय देखि तीन सय विरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो । अत्यधिक गर्मीका कारणले ‘लु’ लाग्ने जोखिम हुन्छ । हाल जिल्लामा तातो हावा चल्ने र लु लाग्ने उच्च सम्भावना छ । गर्मी र वायु प्रदूषणका कारण मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर पुर्‍याएको चिकित्सकले बताएका छन् । साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउने डा. थपलियाले बताउनुभयो ।

मानव शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड नै भइरहने फिजिसियन उहाँले बताउनुभयो । उहाँका अनुसार शरीरले यो तापक्रमलाई सन्तुलन गरिरहन खोजे पनि योभन्दा बढी तापक्रम भएमा स्वास्थ्य समस्या देखिन्छ, जसलाई ‘लु’ भनिन्छ । पछिल्लो समय अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये अधिकांशलाई ‘लु’ को लक्षण देखिएको पाइएको छ । डा. थपलियाका अनुसार ‘लु’ भन्नाले वातावरणको तापक्रम धेरै बढेर शरीरमा भएको पानी र नुनको मात्रा घट्नु हो । धेरै तातो वायुले मान्छेलाई चक्कर लाग्ने, टाउको दुख्ने लक्षण देखिएमा ‘लु’ लागेको हुन सक्ने उहाँले बताउनुभयो ।

कसरी जोगिने ?

गर्मीका कारणले देखिने झाडापखाला, ज्वरो, पेट दुख्नेजस्ता समस्याबाट जोगिन तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडडुल नगर्न तथा झोल पदार्थहरू पर्याप्त मात्रामा सेवन गर्न र गराउन डा. थपलियाले आग्रह गर्नुभयो । यस्तै, बढ्दो गर्मीमा ‘लु’ लाग्ने सम्भावना हुने भएकाले सकेसम्म घाममा ननिस्कन उहाँले सुझाव दिनुभएको छ । ‘सकेसम्म दिउँसो घाममा ननिस्कने, अति आवश्यक कामका लागि निस्कन परेमा छाता लिएर निस्कने केही समय हिँडेर छहारी वा ओझेलमा बस्ने गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

यस्तै, बिहान ११ देखि दिउँसो ३ बजे बिचमा बाहिर नसिक्न उहाँले आग्रह गर्नुभयो । ‘लु’ बाट जोगिने मुख्य उपाय भनेकै गर्मीबाट जोगिने रहेको उहाँले बताउनुभयो । गर्मीमा बढी मात्रामा पानी पिउनसमेत उहाँले सुझाव दिनुभयो । बासी, जङ्क फुड, बाहिरको खाना नखान उहाँले अनुरोध गर्नुभयो । गर्मीमा पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र बृद्धबृद्धाहरूलाई उच्च जोखिम हुने भएकाले यी समूहका व्यक्तिलाई विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ । यस्तै, वायु प्रदूषणबाट जोगिनका लागि बाहिर यात्रा गर्दा अनिवार्य मास्क लगाउने, सकेसम्म अनावश्यक रूपमा घर बाहिर ननिस्कने, यात्रा नगर्ने, अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन समते उहाँले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया