शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा आमाको उमेर नपुग्दै जन्मिदैछन् सन्तान

शनिवार , फाल्गुण ५, २०८०

सिन्धुली– सिन्धुलीमा उमेर नपुग्दै सन्तान जन्माउनेको संख्या बढ्दो छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन् ।

स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा आएर गएको छ महिनामा एक हजार २३ जनाले बच्चा जन्माएका छन् । जसमध्ये २९ प्रतिशत अर्थात् दुई सय जनाले कम उमेरमै बच्चा जन्माएका छन् । उनीहरूमध्ये दक्ष प्रसूतिकर्मीबाट एक सय ८३ जनाले बच्चा जन्माएको कार्यालयका सूचना अधिकारी सुरेश खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार दक्ष स्वास्थ्यकर्मीबाट भने आठ जना र घरमा नौ जना कम उमेरका आमाले बच्चा जन्माएका हुन् । जिल्लाको गोलन्जोर गाउँपालिकामा ा प्रसुति सेवा लिनेमा कम उमेरका आमाहरुको संख्या बढि छ । गोलन्जोरमा ३० जना कम उमेरका आमाले बच्चा जन्माएका छन् भने ३४ जनाले उमेर पुगेर सुत्केरि भएको तथ्यांकले देखाएको छ । छ महिनाको अवधिमा गोलन्जोरमा ४७ प्रतिशत आमाले कम उमेरमै बच्चा जन्माएका छन् । त्यस्तै, हरिहरपुरगढी गाउँपालिकामा २६ प्रतिशत, मरिणमा २१ प्रतिशत, घ्याङलेखमा १४ प्रतिशत, सुनकोशमिा १५ प्रतिशत, कमलामाई नगरपालिकामा १२ प्रतिशत,, तीनपाटनमा १६ प्रतिशत र फिक्कलमा २१ प्रतिशत महिलाले कम उमेरमै बच्चा जन्माएका हुन् ।

स्वास्थ्यको तालिका (प्रोटोकल) अनुसार आठपटक स्वास्थ्य परीक्षण गर्न आउने कम उमेरका गर्भवती आमाहरूका संख्या पनि कमि रहेकोे कार्यालयलको तथ्याङ्कले देखाएको छ । पहिलो हप्तामा स्वास्थ्य परीक्षण गर्ने बढिभएपनि १२ हप्तासम्म पुग्दा स्वास्थ्य परिक्षण गर्न आउने गर्भवति महिलाको संख्या कम रहेको कार्यालयको तथ्यांकमा उलेख छ ।

नेपालको कानुनले वैवाहिक उमेरका लागि केटीका लागि २० वर्ष पूरा हुनुपर्ने भनेको भए पनि सानो उमेरमा बच्चा जन्माउने क्रम भने नरोकिएको कार्यालयले जनाएको छ । खतिवडाका अनुसार ग्रामीण क्षेत्रमा चेतनाको अभावका कारण सानै उमेरमा विवाह हुने र आमा बन्ने क्रम रोकिएको छैन । समाजमा चेतना जगाउन सके सानो उमेरमा विवाह गर्ने र आमा बन्ने क्रम रोक्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेषगरी जिल्लाको ग्रामीण क्षेत्रमा सानै उमेरमा आमा बन्ने गरेका छन् ।’ विपन्न र सीमान्तकृत समुदायमा यो समस्या रहेको उहाँले बताउनुभयो ।

२० वर्षभन्दा कम उमेरमा आमाको स्वास्थ्य पूर्ण रूपमा विकसित नभएको हुनाले गर्भ रहन गएमा त्यस्तो महिला जोखिममा पर्ने सम्भावना हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

कम उमेरमै गर्भपतन

कम उमेरमा गर्भवती बन्नु स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण भए पनि पाँच वर्षको अवधिमा झण्डै डेढ सय जना बढिले कम उमेरमै गर्भपतन गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा २ सय ३ जनाले गर्भपतन गराएकोमा ३२ जना २० वर्ष मुनिका किशोरीहरू रहेका थिए । यसैगरी, विगत आ.व.२०७७÷०७८ मा २ सय ६६ जनाले गर्भपतन गराएकोमा २२ किशोरी रहेको देखिएको छ । गत आ.व. २०७८/०७९ मा ३ सय २१ जनाले गर्भपतन गराएकोमा ८७ किशोरी रहेका छन् ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्म छ जनाले कम उमेरमै गर्भपतन गरेका छन् । कार्यालयका अनुसार २० वर्ष मुनिका चारजनाले औषधि सेवन गरेर र दुईजनाले सर्जरिबाट गर्भपतन गरेका हुन् । सरकारी स्वास्थ्य संस्थाको तथ्यांकमात्रै संकलन भएको हुँदा निजी मेडिकलमा गएर गर्भपतन गर्ने कम उमेरका महिलाको संख्या धेरै रहेको एक मेडिकल व्यवसायीले बताए । सिन्धुलीमा छ महिनाको अवधिमा कुल एक सय ५९ जनाले गर्भपतन गराएका छन् । जसमध्ये अधिकांशले औषधि सेवन गरेका छन् भने सातजनाको सर्जरि गरेर गर्भपतन गरिएको छ ।

परिवार नियोजनका साधनप्रतिको बेवास्ताका कारण पनि गर्भपतन गराउनेको सख्या बढेको देखिएको छ भने असुरक्षित तवरले गरिएको गर्भपतनमा विभिन्न कारणले गर्भ नरहने तथा संक्रमणका कारण गर्भ तुहिने सम्भावना उच्च रहने चिकित्सकको भनाई रहेको छ ।

प्रतिक्रिया