सिन्धुली – नसर्ने रोगको जोखिम न्यूनिकरण गरी नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गराउनका लागि बागमती प्रदेश सरकारले सुरु गरेको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सिन्धुलीमा प्रभाबकारी बन्न् नसकेको सरोकारवालाहरुले बताएका छन । उक्त मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्र्तगत सिन्धुली जिल्ला अस्पतालबाट २ बर्षमा ७ सय १७ जनाले मात्र स्वास्थ्य परीक्षण गराएका छन् ।
नेपालमा नसर्ने रोग खासगरि मुटु तथा रक्तनली, दम, मधुमेह, क्यान्सर र सोबाट हुने मृत्यूदर दुई तिहाई भन्दा बढी रहेको मध्यनजर गर्दै बागमती प्रदेश सरकारले नसर्ने रोगहरु र तिनका जोखिमहरु समयमानै पहिचान गरि उचित परामर्श, स्वास्थ्य ब्यवाहार, परिक्षण, निदान र उपचार गरी नसर्ने रोग जटिल हुन नदिन तथा हृदयघात, मस्तीस्कघात, अब्सेट्रीक, फिस्टुला लगायत नसर्ने रोगको रोकथाम, नियन्त्रण, न्यूनिकरण, निदान र उपचारमा आर्थिक सहुलियत दिने र सहजीकरण गर्ने उदेश्यका साथ बागमती प्रदेश सरकारकारले मुख्यमन्त्री जनता कार्यक्रम सुरु गरेको थियो ।
उक्त कार्यक्रम अन्र्तगत सिन्धुलीका विभिन्न् स्वास्थ्य संस्थाबाट सिफारिस भई आएका बिरामीहरुलाई जिल्ला अस्पताल सिन्धुलीले प्रत्येक साता बुधबार सेवा प्रदान गर्दै आईरहेको मुख्यमन्त्री जनता कार्यक्रम सिन्धुली अस्पतालका संयोजक रामकौशल यादबले जानकारी दिनुभयो ।
अस्पतालको तथ्यांक अनुसार गत आर्थिक वर्ष मा ३ सय ८९ महिला र ३ सय २३ जना पुरुषले सेवा लिएका थिए भने चालु आर्थिक वर्षमा जम्मा ५ जनाले सेवा लिएको जनाइएको छ । गत आर्थिक वर्षमा विशिष्टकृत स्वास्थ्य सेवाका लागी ३ जना बिरामी रिफर गरिएको जनाइएको छ ।
गत बर्ष १८ लाख बराबरको निशुल्क सेवा प्रदान गरिएको र चालु आर्थिक वर्षमा पनि १८ लाख बजेट प्राप्त भएको र १ जना व्यक्ति बराबर २२ सयको चेकजाँच निशुल्क गर्ने कार्यविधी रहेको संयोजक यादबले बताउनुभयो ।
मुख्य मन्त्री जनता कार्यक्रम अन्र्तगत ३० वर्ष वा सो भन्दा माथिका नागरिकहरुका लागी नसर्ने रोगको पहिचानको लागी निशुल्क परिक्षण, निदान, परामर्श र उपचारको लागी सिफारिस गर्ने गरिएको संयोजक यादबले बताउनुभयो । जिल्ला अस्पतालबाट सिफारिस भएका बिरामीहरुले प्रदेशको सिफारिस अनुसार विशिष्टकृत सेवा प्राप्त गर्न सक्ने कार्यबिधीले ब्यवस्था गरेको छ ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम(परिक्षण, निदान, परामर्श र उपचार) ब्यवस्थापन कार्यविधी २०७९ अनुसार गरिब तथा विपन्न् नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको भएपनि नागरिकहरु सेवा प्रति विश्वसनीय बन्न नसक्दा खासै प्रभावकारी बन्न सकेको अवस्था देखिदैन ।
चालु आर्थिक वर्षमा अस्पतालमा आएका सेवाग्राहीहरुको संख्यालाई हेर्दा पनि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रभावकारी र विश्वाशीलो बन्न नसकेको देखिएको नागरिक निगरानी सञ्जाल सिन्धुली अध्यक्ष बेदराज दाहालले बताउनुभयो ।
नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले विभिन्न् कार्यक्रमहरु सञ्चालन गरिरहेको भएपनि नागरिकहरु भने सरकारको निशुल्क सेवा प्रति विश्वसनीय बन्न सकिरहेका छैनन् ।
स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम तथा स्थानीय स्तरमा सञ्चालन हुने निशुल्क स्वास्थ्य सेवा विश्वसनीय र प्रभावकारी बन्न सकिरहेको छैन ।