सिन्धुली– आगामी पुष २७ गतेदेखि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा संचालन हुने ‘साँस्कृतिक तथा फुड फेस्टिभल २०८०’ विवादित बनेको छ । स्थानिय इभेन्ट संचालक ब्रदरहुड इन्टरटेन्टमेन्ट एण्ड म्यानेजमेन्टले आयोजना गर्न लागेको १० दिने फुड फेस्टिबलको सिन्धुली उद्योग वाणिज्य संघले विरोध जनाएको हो ।
बिहिबार संघको अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले व्यवसायिक महोत्सव आयोजना भए आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकमा संघका कार्यसमिति पदाधिकारी, सदस्य, सल्लाहकार र संघमा आबद्ध वस्तुुगत संघका पदाधिकारीको उपस्थिति रहेको थियो । उक्त बैठकले व्यवसायिक मेला महोत्सव संचालन भएको खण्डमा व्यवसायीहरु प्रतिवादमा गई आन्दोलन गर्न बाध्य हुने भएकोले समस्या सामाधानको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।
वर्तमान अवस्थामा बजारमा छाएको व्यवसायिक मन्दि र चर्को बैंक व्याज दरका कारण व्यवसायीहरु दैनिक पलायन हुदैँ गएको र व्यापार व्यवसाय तहसनहस भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्तो भिषम परिस्थितिमा यहि मिति २०८० साल पुष २७ गतेको समयमा सिन्धुली उद्योग वाणिज्य संघसँग समन्वयनै नगरी ब्रदरहुड इन्टरटेन्टमेन्ट एण्ड म्यानेजमेन्टलाई विना उद्देश्य व्यवसायीक मेला महोत्सव गर्न सम्बन्धित निकायहरुले स्विकृति दिएकोप्रति संघको गम्भिर ध्यानकर्षण भएको छ ।’ ब्रदरहुड इन्टरटेमेन्ट एण्ड म्यानेजमेन्टले सांस्कृतिक तथा फुड फेस्टिवल मेला संचालन गर्दा उद्योगी व्यवसायीहरुको कुनै गुनासो नरहेको समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो । तर, स्टल राखि व्यवसायिक मेला महोत्सव संचालन भएमा आन्दोलन गर्ने उहाँले चेतावनि दिनुभयो । साथै, उद्योग वाणिज्य संघ सिन्धुलीले उठाएका विषय वस्तुलाई वेवास्ता गरी व्यवसायिक मेला महोत्सव आयोजना भएमा चरणवद्ध आन्दोलन गर्ने र उक्त परिस्थितिबाट श्रृजना हुने घटनाको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सरोकारवाला निकायहरुले लिनुपर्ने निर्णय बैडकबाट सर्वसम्वतले पारित भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक मन्दीका कारण स्थानीय व्यापार व्यवसाय तहसनहस भई व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको र यस्तो अवस्थामा कुनै पनि बहानामा व्यवसायीहरुलाई असर पर्ने गरी व्यावसायिक मेला महोत्सव लगाउन नहुने श्रेष्ठले बताउनुभयो । उहाँले आर्थिक संकटको कारण पछिल्लो अवस्थामा व्यापार व्यवसाय सुनसान रहेको बताउनुभयो ।
