शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

४३ वर्षपछि सिन्धुलीगढीमै फिर्ता ल्याइयो काली तोप

बिहिवार , पौष ५, २०८०

सिन्धुली– विसं १८२४ असोज महिनामा साम्राज्य फैल्याउँदै हिँडेको अंग्रेज सेनाबाट खोसिएको काली तोप सिन्धुलीगढीमै फिर्ता ल्याइएको छ । नेपाली फौज र इष्ट इण्डिया कम्पनिबिच भएको युद्धमा खोसिएको तोप ४३ वर्षपछि सिन्धुलीगढीमै फिर्ता ल्याइएको हो । २०३७ सालसम्म सिन्धुलीगढीमै रहेको उक्त तोप तत्कालिन शाही नेपाली सेनाले बिरगंज लगेको थियो । लामो समय अज्ञात रहेको उक्त तोप मध्य पूर्वी पृतनाका पृतनापति उपरथी प्रेमध्वज अधिकारीले कमलामाई नगरपालिकालाई बुधबार हस्तान्तरण गर्नुभएको छ । नम्बर ९ बाहिनी अड्डा अन्र्तगत भवानीबक्स गणले उक्त तोपको जिर्णोद्धार गरेको थियो ।

हालको कमलामाई नगरपालिका ५ स्थित जीतपुर (लब्दाह खोला छेउ) मा गोदार थापा र मगर लडाकुहरुको संयुक्त फौजले इष्ट इण्डिया कम्पनीका सेना उपर आक्रमण गरि उक्त तोप खोसेको अन्वेषणकर्ता सागर ढकालले बताउनुभयो । उक्त युद्धमा टमस हार्डी र इन्साईन किथ नेतृ्त्वको अंग्रेज फौजमाथि चम्पनसिँ थापा नेतृत्वको फौजले धानखेतमा आक्रमण गरि तोप कब्जामा लिएको ढकाल बताउनुहुन्छ । २ पाथी (१६ माना ) बारुद जाने काली तोप बिष्मयकारी आकारको भएकालेपनि उसबेला गोर्खालीहरुका लागि मात्र नभई काठमाडौँ उपत्यका (नेपाल मण्डल) का लागि पनि नौलो रहेको ढकालले बताउनुभयो । इष्ट इन्डिया कम्पनी सरकारले मिरकासिमको फौज बिरुद्ध भारतको बक्सार युद्धमा उक्त तोप प्रयोग गरेको सहजै अनुमान गर्न सकिने ढकाल बताउनुहुन्छ ।

काली तोपलाई पडकाउँदा यसको आवाज यति भयानक थियो कि गढी ईर्दगिर्दमा चरिचरणमा रहेका गर्भिणी गाईहरुको भ्रुण नास समेत हुने गरेको कुरा स्थानीयहरुले सुनाउने गरेका छन् । यही कारणले यो तोपलाई नियमित रुपमा पडकाईदैन थियो । जलकन्यावासीहरुले काली तोपलाई जिल्ला सदरमुकाम झार्दा दुई बाससम्म एउटा अकल्पनीय घटना घटेको ढकालले बताउनुभयो । ढकालले भन्नुभयो, ‘प्रत्येक बासमा रातको १२ बजे पछाडी ठुलो आवाजले तोपको ब्यारेल सिन्धुली गढी तर्फ नै फर्किने रहेछ । यस्तो गतिविधीले भयभित भई तोप बोक्नेहरुले दुई बास पश्चात् तोपलाई सिउरेनीको बाटोमा नै अलपत्र छाडी दिएछन् । अलपत्र तोपको दुर्दशाको बारेमा काठमाडौसम्म कुरा पुगेपछि शिवदल गुल्मका लप्टन आई तोपमा वली पुजा गरेर सिन्धुलीमाढीसम्म झार्न सकिएको कुरा अझै स्थानीयहरु बताउदैछन् ।’

सेनापति किनलकका नेतृत्वमा नेपालको राजधानी काठमाडौँ कब्जा गरी नेपाललाई पनि इष्ट इण्डिया कम्पनीको एउटा भाग बनाउने प्रमुख उद्देश्यले अघि बढेको अंग्रेज फौज सिन्धुलीगढीमा पराजित भएको थियो । नेपाली फौजल सिन्धुलीको डाँडामा विभिन्न गढीलगायत संरचना बनाएर एकाएक शत्रुमाथि धावा बोलेका थिए ।

आधुनिक हातहतियारले सुसज्जित दुई हजार ४०० फौजलाई त्यसको आधा संख्यामा रहेको नेपाली फौजले परास्त गरेको थियो । नेपालीले इष्ट इण्डिया कम्पनीलाई परास्तमात्र गरेन एक हजार ६०० अंग्रेज सेनालाई सिन्धुलीगढीको जंगलमै इहलीला समाप्त पारिदिए । सिन्धुलीगढीको बाटो काठमाडौँ प्रवेश गरी नेपाललाई आफ्नो हातमा लिने अंग्रेजको योजना फेल भयो । अंग्रेज सेनाका सेनापति किनलक सिन्धुल ीगढीको जंगलमा भएको युद्धमा घाइते भएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया