शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

वित्तीय संस्थाको नियमन गर

शनिवार , आश्विन १३, २०८०

सिन्धुलीमा च्याउ सरह वित्तीय संस्थाको स्थापना भइरहेको छ । नेपाल राष्ट्र बैंकले इजाजत दिएको विभिन्न वर्गको वित्तीय संस्था जिल्लामा संचालनमा रहेका छन् । वाणिज्य तथा विकास बैंकले शाखा विस्तारमा जोड दिएसँगै जिल्लाको नौँवटै स्थानिय तहमा बैंकिङ सेवा विस्तार भएको छ । तर, वाणिज्य तथा विकास बैंकमा भन्दा ‘ग’ वर्गको फाइनान्स कम्पनी, ‘घ’ वर्गको लघुवित्त कम्पनी लगायत सहकारीमा स्थानियको आबद्धता बढि छ । ग्रामीण देखि सुगम क्षेत्रमा संचालनमा रहेका फाइनान्स, लघुवित्त तथा सहकारी संस्थाले नागरिकको वित्तिय पहुँच बढाएको छ । तर, केहि वाणिज्य र विकास बैंक तथा अन्य वर्गका वित्तीय संस्थाबाट स्थानिय ठगिएको घट्नापनि सार्वजनिक भएको छ । वित्तीय साक्षरताको अभावका कारण सर्वसाधरणले वित्तीय संस्थाबाट लाभ लिने भन्दापनि ऋणमा डुब्ने माध्यम बनेको छ । नक्कली ऋणी खडा गरेर वित्तीय संस्थाले सदस्यको रकम हिनामिना गरेका छन् । तसर्थ, जिल्लाको स्थानिय तह लगायत सरोकारवाला निकायले वित्तीय संस्थाको नियमनमा विशेष चासो देखाउन जरुरी छ ।

जिल्लामा संचालित वित्तीय संस्थाले ल्याएका योजना, सदस्यको वित्तीय साक्षरता, वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरेका कार्यक्रम लगायत विविध पक्षको निगरानि गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । जिल्लामा वित्तीय संस्थाका संचालक समिति र पदाधिकारी मोटाउने र सदस्यहरु ऋणमा डुबेको घट्ना पनि सार्वजनिक भएको छ । तसर्थ, वित्तीय संस्थाको योग्दानलाई कदर गर्दै वित्तीय क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ । अतः वित्तीय संस्थाको नियमन गर्न जिम्मेवार निकाय सचेत र सजग हुन आवश्यक छ ।

प्रतिक्रिया