शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

युवा लक्षित कार्यक्रम ल्याऊ

शुक्रवार , आश्विन १२, २०८०

सिन्धुलीबाट विदेश पलायन हुने क्रम बढ्दो छ । वैदेशिक रोजगारी र उच्च शिक्षा अध्ययनकालागि जिल्लाबाट विदेशिनेको संख्या दैनिक बढिरहेको छ । स्वदेशमा भविष्य नदेखेपछि प्रतिभा पलायन ‘ब्रेनड्रेन’ भइरहेका छन् । नागरिकको नजिकको सरकारले समेत युवाहरुको समस्या नबुझेपछि विरक्तिएर देश छाड्न युवा बाध्य छन् । पर्याप्त श्रोतसाधन हुँदाहुदैँपनि स्थानिय सरकारले युवालाई नजरअन्दाज गरेको अवस्था छ । वर्षेनि सिन्धुलीका स्थानिय तहले युवाकालागि लाखौँ बजेट छुटाउने गर्दछन् । युवा लक्षित कार्यक्रम भन्दै वृक्षारोपण, सरसफाई जस्ता अनुत्पादक क्षेत्रमा स्थानिय तहले लगानी गरिरहेको छ । यतिसम्म कि, सिन्धुलीको स्थानिय तहले युवा लक्षित कार्यक्रम भन्दै वृद्धवद्धृालाई फाइदा पुग्ने कार्यक्रम ल्याइरहेका छन् । जिल्लाका स्थानिय तहले कर्मचारी भर्ना गर्दा होस् वा अनुदान वितरणमा युवा भन्दै ५० वर्षका उम्मेदवारलाई प्राथमिकता दिएको अवस्था छ । स्थानियदेखि केन्द्रका जनप्रतिनिधिले सिन्धुलीमा युवा लक्षित कार्यक्रम ल्याउन कुनै योजनानै बनाएका छैनन् । युवालाई अवसर दिने भन्दा पनि युवाको नाममा आफू नजिकका कार्यकर्तालाई पोस्ने काम जिल्लाका स्थानिय तहमा भइरहेको छ ।

आफूलाई आवश्यकता पर्ने जनशक्ति उत्पादन गर्न जिल्लाका कुनैपनि स्थानिय तहले चासो देखाएको छैन । जिल्लाका स्थानिय सरकारले युवा लक्षित योजनानै नल्याएका भने होइनन् । बिना धितो, बिना ब्याज युवालाई ऋण, प्राविधिक शिक्षा अध्ययनकालागि छात्रवृत्ति र रोजगारीको अवसर, स्नातकपछि विवाह गर्नेलाई पुरस्कार लगायत नविनतम कार्यक्रमहरु पनि सिन्धुलीका स्थानिय तहले ल्याएका छन् । तर, कार्यविधि निर्माण र कार्यक्रम कार्यान्वयनमा भने केहि कमजोरिहरु देखिएको छ । जनप्रतिनिधिले योजना निर्माणकालागि गृहकार्य नगर्ने र गैरसरकारी तथा निजि संघ संस्थासँग साझेदारी गरि उनीहरुले ल्याएको योजना संचालन गरि ढुक्क बस्ने प्रवृद्धिपनि देखिएको छ । तसर्थ, जनप्रतिनिधिले गहन अध्ययन गर्दै युवालाई लक्षित कार्यक्रम संचालन गर्नतर्फ केन्द्रित हुन जरुरी छ ।

उपभोक्ता समितिदेखि स्थानिय तहले संचालन गर्ने कार्यक्रममा युवालाई आबद्ध गराउनतर्फ स्थानिय सरकार गम्भिर हुनुपर्दछ । जन्मिएको केहि वर्षमै सिन्धुलीका खोलामा पौडी खेल्दै हुर्किएका र डाँडाकाँडामा कुदेर छिपिएका खुट्टाहरु किन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देखिदैँनन् ?, स्थानिय सरकारले सोच्न जरुरी छ । खेलकुद देखि रोजगारी र समग्र युवाको विकासमा जिल्लाको स्थानिय सरकारले गम्भिर भएर सोच्न आवश्यक छ । अतः जिल्लाका स्थानिय तहदेखि केन्द्र र प्रदेश मातहतका कार्यालय, शैक्षिक संस्था लगायत जिम्मेवार निकायले युवा लक्षित नविनतम प्रभावकारी कार्यक्रम ल्याउन जरुरी छ ।

 

प्रतिक्रिया