वैशाख यता सिन्धुलीमा सर्पदंश (सर्पको टोकाइ) बाट चारजनाको मृत्यु भएको छ । वर्षायाम सुरु भएसँगै सर्पदंशबाट ४३ जना घाईते भएका छन् । हरेक वर्ष विषालु सर्पको टोकाइबाट विशेषगरी जिल्लाको दुधौली क्षेत्र बढी प्रभावित हुने गरेको छ । वर्षेनि सर्पको टोकाइबाट सिन्धुलीमा मानविय क्षति हुँदा समेत यहाँका निर्वाचित जनप्रतिनिधि लगायत राज्यको संयन्त्र गम्भिर नभएको अवस्था छ । केन्द्र देखि प्रदेश र स्थानिय सरकारले सर्पदंश उपचारलाई प्राथमिकतामा राखेका छैनन् । जसकारण ग्रामीण भेगमा बसोवास गर्ने र विपन्न बढी प्रभावित भइरहेका छन् ।
सिंंन्धुलीमा सातवटा सर्पदंश उपचार केन्द्र भएपनि जनशक्ति, उपकरण र सिपको अभावमा सर्पदंशको उपचार हुन सकेको छैन । पर्याप्त श्रोत, साधन र सिपको अभावमा जिल्ला भित्र सर्पदशंको उपचार प्रभावकारी हुन नसकेको हो । दशकौँदेखि सर्पदंशको उच्च जोखिममा दुधौली नगरपालिका रहेको छ । केन्द्रमा राम्रो पकड भएका सिन्धुलीका सांसदहरुले सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर, जनशक्ति लगायत आवश्यक श्रोतसाधनको व्यवस्था गर्न भने कुनैपनि प्रभावकारी कदम चाल्न सकेका छैनन् ।
अहिले पनि सर्पको टोकाइ, उपचार र सर्पको प्रकारको विषयमा समुदायमा हुने मिथ्या र भ्रमका कारण समयमै उपचार नगराउँदा जिल्लामा मानविय क्षति हुने गरेको छ । आर्थिक अवस्थाका कारण उपकरण जडान गर्न नसकेपनि स्थानिय सरकारले समुदायलाई सचेत गराउन सक्छ । त्यस्तै, सर्पदशंको उपचार प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्यकर्मी, चिकित्सकलाई सर्पदंशको तालिम दिन स्थानिय सरकारले विशेष जोड दिन जरुरी छ । अतः सर्पदंश जिल्लामा जनस्वास्थ्यका लागि ठूलो समस्याको रूपमा रहेको हुँदा सर्पदशंको उपचारलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, नागरिक समाज लगायत सरोकारवाला निकायले आवश्यक पहल गर्न कञ्जुस्याईँ गर्नुहुदैँन ।