सिन्धुलीमा बेलाबखत सरसफाईको अभियान चलाईन्छ । विशेषगरि, विभिन्न अवसरमा सरसफाईलाई प्राथमिकता दिइन्छ । जिल्लाका निजी तथा सरकारी संघसंस्थाले पनि अवसरकै दिनमामात्रै सरसफाई गरेको दृश्य देख्न सकिन्छ । केहि दिनकालागि भएपनि कहिले ग्वाङखोलाको सरसफाई त कहिले बजार क्षेत्रमा सरसफाई हुने गर्दछ । यता, केहि स्थानिय तहले भने सरसफाईकालागि जनशक्तिनै खटाएका छन् । विभिन्न कार्यक्रमको माध्यमबाट स्थानिय तहले सरसफाईकालागि जनशक्ति प्रयोग गर्ने गरेका छन् । स्थानिय तहले मात्रै सरसफाई गरेर हाम्रो समाज सफा हुने भन्ने हुदैँन ।
किनभने, सरसफाईकालागि पनि स्थानिय सरकारसँग कुरिरहने हो भने सफा र सुन्दर समाजको परिकल्पना गर्न सकिदैँन । तसर्थ, समाजमा सरसफाईको संस्कार बसाउन पनि सरसफाईका अभियान निरन्तर चलाईराख्नुपर्ने आवश्यकता छ । अहिलेको अवस्थामा स्थानिय तहले नागरिकमा सरसफाई सम्बन्धि चेतना फैलाउने कार्यक्रम संचालनमा ल्याउन जरुरी छ । हाम्रो समाजमा सरसफाईलाई खासै वास्ता गरिदैँन । बालबालिका देखि वृद्धवृद्धासम्मले जथाभावि फोहोर फ्यालिरहेका हुन्छन् । बालबालिकाहरुले चकलेट खाएपछि सडकमै खोल फ्याल्ने गरेको दृश्य धेरै देख्न सकिन्छ । यसबाट के पनि पुष्टि हुन्छ भने हाम्रो समाज सरसफाईप्रति सजग छैन । न त विद्यालयहरु छन् न त परिवारनै । विद्यालयले पनि साना बालबालिका देखि ठूला विद्यार्थीलाई सरसफाईमा व्यवहारीक ज्ञान दिन सकेको छैन । विद्यालयले सरसफाईको बारेमा किताबि ज्ञान मात्र विद्यार्थीलाई दिइरहेका छन् ।
तसर्थ, विद्यालयहरुले पनि सरसफाईको संस्कार बसाउन विद्यार्थीलाई व्यवहारीक ज्ञान दिन जरुरी छ । त्यसैगरि, स्थानिय तहले पनि सडकमा डस्टबिन राख्ने लगायत सरसफाईमा अझ बढि केन्द्रित हुनुपर्दछ । अतः जिल्लामा सरसफाई अभियानलाई निरन्तरता दिदैँ समाजमा सरसफाईको संस्कार बसाउनतर्फ सरोकारवाला निकायको चासो जान जरुरी छ ।