शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बोटविरुवाको संरक्षण गरौँ

मंगलवार , आश्विन ९, २०८०

सिन्धुलीमा हरेक बर्ष लाखौँ विरुवा रोपिन्छ । निजि देखि सार्वजनिक संघ, संस्थाले विभिन्न अवसरमा विरुवा रोप्ने गरेका छन । जिल्लामा स्थानिय स्तरबाट पनि विभिन्न सामुदायिक वनहरुमा उपभोक्ताहरुले वृक्षारोपण गरेका छन् । तर, रोपेको संख्यामा हुर्किने बिरुवाको संख्या भने निकै कम छ । वृक्षारोपण गरिएका विरुवाहरु हुर्किए या हुर्किएनन् भन्नेतर्फ ध्यान नदिदा वृक्षारोपण स्टन्टबाजीको उपयुक्त माध्यम बनेको छ । वृक्षारोपण गर्ने संघसंस्था तथा सरकारी निकाय मात्रै नभई उपभोक्ताहरुले समेत त्यस्ता विरुवाहरुको संरक्षणमा ध्यान नदिएको अवस्था छ ।

फोटो खिच्न र क्षणिक मनोरञ्जनकालागि वृक्षारोपण भएपनि संरक्षण र निगरानि नहुँदा वृक्षारोपण बालुवामा पानी हाले सरह भएको छ । पछिल्लो केही समय यता जन्मदिन या अन्य विभिन्न उत्सवका अवसरमा पनि बोटविरुवाहरु लगाउने चलन बढेको छ । ती विरुवाहरुको पनि संरक्षणमा भने ध्यान दिईदैन । बोटविरुवा लगाउने परिपाटी बढेपनि संरक्षणमा ध्यान नदिईदा त्यसको प्रभाव देखिएको छैन । तसर्थ, आगामी दिनमा वृक्षारोपणको अनुमति पाएका जोकोहिले उक्त बोटविरुवाको हुर्काइको समेत जिम्मेवारीवहन गर्न आवश्यक छ ।

जिल्लास्तरमा हुने वृक्षारोपणमा जिल्लामा रहेका डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय लगायत सरोकारवाला निकायले विशेष निगरानी राख्न आवश्यक छ । वातावरणलाई हरियाली राख्न वृक्षारोपण आवश्यक छ । त्यसैले वृक्षारोपण गरौँ, वृक्षारोपण गरिएका विरुवाहरुको संरक्षणमा ध्यान दिउ । अतः वृक्षारोपणसँग बोटविरुवाको संरक्षणकालागि सबै नागरिक सचेत हुन जरुरी छ ।

 

प्रतिक्रिया