सिन्धुलीबाट वैदेशिक रोजगारीमा जानेको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वदेशमै रोजगारीको अवसर नपाएपछि जिल्लाबाट रोजगारीकालागि ठूलो संख्यामा युवाहरु विदेशिएका छन् । देश संघियतामा गएपछि स्थानिय तहले रोजगारीको सुनिश्चीतता गर्ने विश्वास जिल्लावासीले लिएपनि त्यस अनुसारको काम हुन सकिरहेको छैन । देशभरीबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा सिन्धुलीपनि प्रमुख जिल्लामा पर्दछ । कृषि, साना उद्योग तथा निर्माण क्षेत्रमा श्रमशक्तिको अभाव रहेपनि विदेशिनेको संख्या बढिरहेको छ । गाउँमा जनशक्तिको अभाव र वैदेशिक रोजगारीमा युवाको ठूलो संख्या देख्दा जनशक्ति व्यवस्थापनमा स्थानिय तहले खासै प्राथमिकता दिन सकिरहेको छैन ।
तत्कालै वैदेशिक रोजगारीलाई विस्थापन गर्ने अर्को विकल्प नभएपनि तत्काल रोजागारी सिर्जना गरेर थोरै भएपनि जनशक्ति पलायनलाई रोक्न सकिन्छ । स्थानिय तहले जनशक्ति व्यवस्थापनमा ध्यान दिन सके प्राकृतिक श्रोत, साधनको उपयोग मात्र होइन जनशक्तिको पनि उचित परिचालन हुने थियो । जस्ले जिल्लाको समग्र अर्थतन्त्रमा टेवा पुग्ने छ । एकातिर जिल्लाको विकासमा पसिना बगाउनुपर्ने युवा बिदेसिने र उसमा स्थानिय तहले कुनै लगानी नगर्ने हो भने वैदेशिक रोजगारबाट उत्पन्न सामाजिक विचलन र ती नागरिकको सामाजिक सुरक्षामा सम्बन्धित निकायले ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ । तसर्थ, स्थानिय तहले युवालाई विशेष प्राथमिकता दिन आवश्यक छ । अतः रोजगारीको व्यवस्था गर्न सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।