शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

जोखिमयुक्त स्थानमा पुर्वतयारी गर

शनिवार , आश्विन ६, २०८०

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको विभिन्न सडकखण्डमा पुल नहुँदा यात्रुहरुले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । जिल्लाको कमलामाई नगरपालिका ९ स्थित भिमान सडकखण्डमा पुल निर्माण नहुँदा खहरे खोलाले मोटरसाइकल लगायत सवारीसाधन बगाउने गरेको छ । सिन्धुलीमा मात्र नभएर विपी राजमार्ग अन्तर्गत काभ्रेको विभिन्न सडकखण्डमा खहरे खोलाले दुख दिने गरेको छ । खहरे खोलाले लेदो बगाएर ल्याउँदा राजमार्गनै अवरुद्ध हुने गरेको छ । विपी राजमार्गका जोखियुक्त स्थानमा स्थानिय तह लगायत तीनै तहको सरकार मातहतका कार्यालयले सावधानि नअपनाएको यात्रुहरुले गुनासो गरेका छन् ।

जोखियुक्त स्थानमा आवश्यक उपकरणहरु ‘स्ट्याण्डबाई’ राख्नुपर्ने यात्रुहरुले माग गरेको वर्षौँ भएपनि कुनैपनि तहको सरकारले चासो नदेखाएको अवस्था छ । वर्खायाममा मात्र नभएर बेमौसममा समेत खोलाले राजमार्गमा यात्रा गर्न असहज अवस्था सिर्जना गरेको छ । तसर्थ, दैनिक हजारौँ सवारीसाधन गुड्ने विपी राजमार्गमा आकस्मिक उपकरण पुर्वतयारीमा राख्न जिम्मेवार निकाय सचेत हुन जरुरी छ ।

हिन्दु धर्मावलम्वीको महान् चाड दशैँ आउन केहि दिनमात्र बाँकी छ । दशैँको अवसरमा विपी राजमार्ग अन्य समय भन्दा व्यस्त रहने गर्दछ । ठाउँठाउँमा सडक बिग्रदा यात्रुहरुलाई सास्ती हुने निश्चित छ । त्यसैले, राजमार्गमा देखिने समस्यालाई मध्यनजर गर्दै जिम्मेवार निकायले पुर्वतयारीको योजना बनाउन जरुरी छ । अतः जोखिमयुक्त स्थानको पहिचान गरि सडक मर्मत र आवश्यक उपकरणको व्यवस्था गर्न सम्बन्धित निकाय सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया