शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको काठ तस्करको पहिचान गर

बुधवार , आश्विन ३, २०८०

सिन्धुलीमा झण्डै एक लाख कठ्ठा बढि (एक हजार बढि हेक्टर) सामुदायिक र सरकारी वन अतिक्रमण भएको डिभिजन वन कार्यालय मरिण र डिभिजन वन कार्यालय सिन्धुलीमाढीको तथ्यांकले देखाउँछ । शुरुमा काठ तस्करीकालागि वन फडानी गर्ने र काठ बेचेपछि जग्गा अतिक्रमण गुपचुपमै हुने गरेको वन नजिकको वस्तिका स्थानियको गुनासो छ । जिल्लाका केहि फर्निचरहरुमा गाडीका गाडी ढोका, झ्याल लगायत काठका उत्पादनहरु ओसारपसार हुँदा समेत निगरानि गर्ने निकायले नदेखेको झैँ गरेको स्थानियले आक्रोश पोख्ने गरेका छन् । सामुदायिक वन उपभोक्ता समितिले सदस्यहरुबिच आत्मीयता बढाउन नसक्दा वनका सम्पदाहरुप्रति समुदायले अपनत्व गर्न सकेका छैनन् जसका कारणपनि सिन्धुलीमा वर्षेनि काठ तस्करी बढिरहेको छ । उपभोक्ता समितिका पदाधिकारीकै मिलेमत्तोमा समेत भित्रभित्रै काठ तस्करी हुने गरेको आरोप स्थानियले लगाउने गरेका छन् । वन निगरानिकालागि उपभोक्ता समिति, स्थानिय तह लगायत सरोकारवाला निकायले योजना बनाउनै नसकेको अवस्था छ । यतिसम्म कि काठ तस्करीकैलागि सिन्धुलीमा वस्तिनै नबसेको ठाउँमा समेत जान वा अनजानमा स्थानिय सरकार लगायत प्रदेश र केन्द्र सरकारले लाखौँ बजेट विनियोजन गरेको अवस्था छ ।

काठ तस्करसँगै वैधानिक माध्यमबाट अवैधानिक ढंगले जिल्लामा वन सम्पदा मासेर केहि व्यक्ति र समुहले ब्रहमलुट मच्चाइरहेका छन् । नक्कली भूमिहिन दलित र भूमीहिन सुकुम्बासी खडा गरि केहि जग्गा माफियाले वन फडानी गर्दै जग्गा अतिक्रमण समेत गरेको गुनासो बढ्दो छ । तसर्थ, काठ तस्करसँगै वन जग्गा अतिक्रमणलाई निरुत्साहित पार्न जिल्लाका वन कार्यालय, सुरक्षा निकाय, स्थानिय सरकार लगायत राज्यको संयन्त्र गम्भिर हुन जरुरी छ । प्राकृतिक सम्पदा कसैकोलागी कमाई खाने भाँडो हुन नदिनकालागि समुदायलाई शिक्षित र सचेतसँगै निगरानि बढाउन सम्बन्धित निकायले आवश्यक उपकरण जडान गर्नतर्फ विशेष ध्यान दिन आवश्यक छ । अतः जिल्लाका काठ तस्करको पहिचान गरि कार्वाहीको दायरामा ल्याउन नियमनकारी निकाय निर्मम भएर अघि बढ्न जरुरी छ ।

 

प्रतिक्रिया