पछिल्लो समयमा जताततै बिचौलियाको बिगबिगी हुदा उपभोक्ताहरु मर्कामा परि रहेका छन् । उत्पादक र उपभोक्ता दुई पक्षमात्र कुनै पनि उत्पादन र उपभोगबाट लाभान्वित हुनुपर्ने हो । तर, यसो नभएर अर्को एउटा पक्ष खडा भएर त्यसले तिनका बीचमा हालिमुहाली मच्चाई रहेको छ । उत्पादक र उपभोक्ता मारमा परिरहेका छन् । यसरी यी दुई पक्षको बीचमा उभिएर दोहोरो लाभ लिने पक्ष नेपालका सन्दर्भमा बिचौलिया भनेर चिनिएको छ र बिचौलियाको प्रभाव कुनै निश्चित एक वा दुई ठाउँमा मात्रै सीमित नभएर सर्वत्र फैलिएको छ ।
यिनका लागि केही क्षेत्र सदासर्वदा प्रयोग भइरहेका छन् भने केही क्षेत्रमा समय वा पर्व विशेषका रूपमा यिनले प्रभाव फैलाउने गरेका छन् । तरकारी जस्ता क्षेत्र यिनका सधैंका दुहुना गाई हुन् । किसानले आफ्नो रोजी रोटीका लागि खेती किसानी गरेको हुन्छ । त्यसबाट आफुलाई बढी भएको अन्न सागसब्जी बेचेर नुन तेलको जोहो गर्न चाहन्छन् । तर, तिनका उत्पादन ती आफैंले बजार लानुपूर्व नै त्यहाँ बिचौलिया पुग्ने गर्छन् । किसानले तीबाट पाएको रकमभन्दा बीसौं गुणा बढी मूल्यमा तिनले त्यो सामान उपभोक्तालाई बेच्छन् र नाफा कमाउँछन् ।
अझै व्यावसायिक रूपमै खेती गर्नेहरूसँग त बिचौलियाको स्थायी सम्बन्ध हुन्छ र तिनका सबै उत्पादन तिनकै थलामा पुगेर उठाइ दिन्छन् । तर, बिचौलियाले उत्पादकसँग न्यून मूल्यमा उत्पादन खरिद गर्ने गरेका हुन्छन् । वास्तवमा भन्ने हो भने उत्पादकले जग्गा भाडा, मल, बिउ, किटनाशक विषादी र परिश्रमको मूल्य कटाएर खासै नाफा लिन सकेका हुँदैनन् । व्यापार, जागिर लगायत व्यवसाय गरेर बसेको वर्गसँग आफ्नो उत्पादन हुँदैन । उत्पादकसँग सिधैं सम्पर्कमा नरहनाले त्यस्तो वर्ग बिचौलियामार्फत बजारमा आइपुगेको उपभोग्य सामग्री चर्को मोलमा किन्न बाध्य हुन्छ । यस्तो अवस्था जताततै हावी छ । जबसम्म सरकारी क्षेत्रबाट स्पष्ट नीति बनाएर त्यसलाई कडाइका साथ लागू गर्ने र त्यसको पालना भयो कि भएन भनेर अनुगमन गर्ने गरिँदैन तबसम्म यस्तो अवस्था रहिरहन्छ ।